अमेरिकाद्वारा वीर र प्रसूति अस्पताललाई तरल अक्सिजन ट्यांक प्रदान, थप १ करोड ५ लाख डलर सहायता घोषणा – Nepal Press

अमेरिकाद्वारा वीर र प्रसूति अस्पताललाई तरल अक्सिजन ट्यांक प्रदान, थप १ करोड ५ लाख डलर सहायता घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई कोभिड-१९ महामारीविरुद्ध दुईवटा तरल अक्सिजन ट्यांक प्रदान गरेको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) प्रमुख सेपिडे केभान्शाडले मंगलबार स्वास्थ्य सहायता प्रदान गरे ।

ती लिक्विड अक्सिजन ट्यांकहरु अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्ने जनाइएको छ । युएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्याङ्कहरू देशभरका विभिन्न अस्पतालहरूमा जडान हुने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार नै अमेरिकाले नेपाललाई युएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलर बराबरको जरुरी स्वास्थ्य सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ । सो थप रकम सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ ।

उक्त कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत गर्नेछ । आफ्ना साझेदारहरूसँग मिलेर युएसएआईडीले कोभिड–१९ का बिरामीहरूलाई आइसोलेसन केन्द्रमा र दूर चिकित्साको माध्यमबाट उनीहरूको घरमा पनि मद्दत गर्दछ, अपाङ्गता भएका मानिसहरूलाई अत्यावश्यक स्वास्थ्य र पुनर्स्थापना सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ ।

सहायता हस्तान्तरण समारोहमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. सङ्गीता मिश्रको पनि उपस्थिति थियो ।

सो सहायतामार्फत अमेरिकी सरकारबाट नेपाललाई प्रदान गरिएको ९ करोड अमेरिकी डलरभन्दा बढीको कोभिड–१९ सम्बन्धी सहयोगमा थप्ने काम गरेको छ जुन सहयोग यो महामारी सुरु भएदेखि जनसङ्ख्याको ६०५ भन्दा बढीमा पुगेको छ । यस सहायतामा युएसएआईडीबाट उपलब्ध गराइएको ७.५ करोड अमेरिकी डलरको प्राविधिक तथा जिन्सी सहयोग, जस्तो कि अक्सिजन सिलिन्डर, श्वासप्रश्वास यन्त्र, भेन्टिलेटर, र व्यक्तिगत सुरक्षात्मक उपकरणहरू, समावेश छन् ।

पछिल्लो २० वर्षमा मात्र युएसएआईडीले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ६० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ र मातृ तथा शिशु मृत्युदर घटाउन र मलेरिया उन्मुलन गर्न सघाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *