२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण शुरु, ५ वर्षभित्र सक्ने लक्ष्य – Nepal Press

२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण शुरु, ५ वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं। प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।

भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको छ । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ ।

वर्खा सकिएसँगै मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु हुने छन् । आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीहरुको परीक्षण, पहुँच सडकका लागि त्रिसूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको छ ।

निर्माणमा अहिले दुई सय श्रमिक आयोजनास्थलमा खटिएका छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ ।

साथै आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी ९ईक्विटी०बाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८।७५ प्रतिशत हिउँदयाममा र ६१।२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म)ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर