चीनको युनान प्रान्तद्वारा वस्तु मेलामा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान – Nepal Press

चीनको युनान प्रान्तद्वारा वस्तु मेलामा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान

चीनको युनान प्राप्तले यस महीनाको अन्त्यमा त्यहाँ आयोजना हुने वस्तु मेला तथा लगानी महोत्सवमा भाग लिन नेपाली उद्यमीहरुलाई आह्वान गरेको छ । प्रान्तको राजधानी कुनमिङ्गमा अगस्ट २५ देखि २९ तारिखसम्म दक्षिण तथा दक्षिणपूर्वी एशिया वस्तु मेला तथा लगानी महोत्सव २०२१ आयोजना हुँदैछ ।

‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त मेलामा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशिया क्षेत्रबाट वस्तु तथा सेवा उद्यमीको सहभागिता हुने जनाइएको छ । कार्यक्रममा भर्चुअल प्लेटफर्ममार्फत पनि भाग लिन सकिने भएको छ ।

हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो मेला चीन र एशियाका देशहरुबीच सम्बन्ध र व्यापार साझेदारलाई सुधार गर्न महत्वपूर्ण मानिन्छ । ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस मेलामा ३ हजार वटा प्रदर्शनी स्थलहरु राखिनेछन् ।

काठमाडौंस्थित युनान प्रान्तिय सीमापार प्रतिनिधि कार्यालयका अनुसार नेपाली उद्यमीका लागि आफ्ना सामान चीनमा प्रवर्धन गर्ने यो राम्रो मौका हो । कार्यालयले भनेको छ, ‘मेलामा नेपाली व्यवसायी सहभागी हुन सक्छन् र वस्तु तथा परियोजना निःशुल्करुपमा चिनियाँ तथा एसियाली उद्यमीहरु माझ प्रस्तुत गर्न सक्छन् ।’

अनलाइनमा प्रत्येक कम्पनीका लागि आफ्ना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइने भएको छ । यो वर्ष मेला सञ्चालनलाई अझ व्यवस्थित बनाइएको छ । वस्तुहरुको प्रदर्शनलाई सजिलो बनाउन ती सामानहरुको भन्सार सुनिश्चतता तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ ।

उद्यमीले वेबसाइट www.csa-expo.com मार्फत कम्पनीलाई दर्ता गर्न सक्नेछन् । ‘आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्,’ नेपाल–भुटान सीमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ युले भने ।

नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उनले जानकारी दिए ।

सन् २०१५ मा स्थापना भएको प्रतिनिधि कार्यालयले उmर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ ।

नियमित मेलाबाहेक कार्यक्रममा एसिया लिंक, सीमापार लगानी साझेदारी, सेवाको व्यापार, सीमा व्यापार, अनलाइन व्यापार लगायतका विभिन्न विषयमा प्रदर्शन तथा छलफल पनि हुनेछ । कोभिड–१९ संक्रमणको मापदण्डासहित मेला आयोजना हुने आयोजकले जनाएको छ ।

पाँच दिने मेलाको अवसरमा तेस्रो चीन–दक्षिण एसिया सहकार्य मञ्च, १५ औं चीन–दक्षिणपूर्वी एशिया व्यापार मञ्च, आठौं चस्न–दक्षिण तथा दक्षिणपूर्वी एशिया थिंकट्यांक मञ्च लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछन् ।

गएको डिसेम्बर महिनामा पनि युनानले चीन-दक्षिण एसिया महोत्सवको आयोजना गरेको थियो । कोभिड–१९ का कारण अनलाइनमा मात्र सीमित गरिएको उक्त मेलामा १० हजार उद्यमी व्यवसायीहरु सहभागी भएका थिए भने एक हप्तामा ५ खर्ब डलर भन्दा बढीको कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर