हाँडीगाउँमा १४ तले लक्जरियस अपार्टमेन्ट बन्दै – Nepal Press

हाँडीगाउँमा १४ तले लक्जरियस अपार्टमेन्ट बन्दै

काठमाडौं । काठमाडौंको नक्सालस्थित हाँडिगाउँमा ‘रोयल स्टेट’ प्राइभेट कम्पनीले १४ तले लक्जरियस प्रिमियम अपार्टमेन्ट बनाउने भएको छ ।

पौने दुई अर्ब लागतमा निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट अबको ३ वर्षपछि अर्थात सन् २०२४ सम्ममा तयार हुने बालाजी इन्भेष्टमेन्ट प्रालि र रोयल स्टेट प्रालिका प्रबन्ध निर्देशक नितिन गोयलले जानकारी दिए ।

‘रियल स्टेटको क्षेत्रमा काम गरिरहेका तीनवटा व्यवसायिक समूह (बालाजी इन्भेष्टमेन्ट, कालिका कन्सट्रक्सन र पायोनियर ग्रुप) मिलेर यो परियोजना संचालन गर्न लागेका हुन् ।

बालाजी इन्भेष्टमेन्टले बनाएको सो हाउजिङ लक्जरी हाउजिङका कारण पनि चर्चित थियो । पानीपोखरी हाइट्समा पनि अत्याधुनिक निर्माण सामग्रीको प्रयोग गरी अत्याधुनिक डिजाइनमा हाउजिङ बनाइएको थियो ।

सो कम्पनीले काठमाडौंकै जडिबुटीमा अर्को परियोजना पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै, रोयलस्टेट प्रालिको अर्को साझेदार पायोनियर ग्रुप पनि व्यवसायिक रुपमा सफल ग्रुप मानिन्छ ।

अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीले नक्सालको गहनापोखरीमा सवा ५ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अहिले कम्पनीले नक्सा डिजाइन तयार पारिरहेको छ भने छिट्टै नै उपत्यका विकास प्राधिकरणबाट स्वीकृति लिइने गोयलले जानकारी दिए । लक्जरियस सो अपार्टमेन्टको नक्सा डिजाइनको काम स्वदेशी तथा विदेशी अनुभव प्राप्त डिजाइनर कम्पनीले तयार पारिरहेका छन् ।

सो लक्जरी अपार्टमेन्ट एउटैको २ करोड ६० लाख रुपैयाँको हारहारीमा बिक्री गर्ने योजना कम्पनीको छ । लोकेसन तथा निर्माण गुणस्तरका कारण लक्जरियस हुने सो अपार्टमेन्ट बढ्दो शहरिकरणका लागि उच्च वर्गका उपभोक्ताको रोजाइमा पर्न सक्ने कम्पनीको आंकलन छ ।

अपार्टमेन्ट बन्न लागेको स्थान शान्त रमणीय हुनाका साथै सांस्कृतिक र पुरातात्विक हिसावले पनि उत्तिकै महत्वपूर्ण स्थान भएकोले उक्त अपार्टमेन्ट रोज्ने क्लाइन्टको आर्कषण अझ बढी हुने प्रबन्ध निर्देशक गोयलले बताए ।

यसअघिसम्म अमेरिका, भुटान, नेपाल जस्ता देशका विकास आयोजना निर्माण गरिरहेको कालिका ग्रुप अफ कम्पनी अन्तर्गतको कालिका कन्सट्रक्सन कम्पनीले रियलस्टेट व्यवसायमा हात हालेको पहिलो पटक हो ।

रोयलस्टेट प्रालिको अर्को व्यवसायिक साझेदार संस्था बालाजी इन्भेष्टमेन्ट प्रालि रियलस्टेट क्षेत्रमा राम्रो अनुभव हाँसिल गरिसकेको कम्पनी हो । सो कम्पनीले यसअघि अमेरिकन पुरानो दुतावास रहेको करिब २१ रोपनी जग्गामा पानी पोखरी हाइट्स नामक परियोजनामा ४५ वटा अत्याधुनिक हाउजिङ निर्माण गरेर बिक्री गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर