सत्ता कब्जापछि तालिवानको पत्रकार सम्मेलन : केही दिनमै समावेशी सरकार घोषणा हुने – Nepal Press

सत्ता कब्जापछि तालिवानको पत्रकार सम्मेलन : केही दिनमै समावेशी सरकार घोषणा हुने

महिला अधिकारलाई सम्मान गर्छौं र जागिर दिन्छौं : प्रवक्ता

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि तालिवानले पहिलोपटक आज राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान उदार बन्ने संकेत देखिएको जनाइएको छ ।

प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताए । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गरिने उनले बताएका थिए ।

स्वास्थ्यसहितका अत्यावश्यक क्षेत्रमा महिलाले काम गर्न सक्ने उनले बताए । उनले महिलासँग कुनै भेदभाव समेत नगर्ने बताए । २० वर्षअघिको शासनकालमा तालिवानलाई महिलालाई अत्याचार गर्ने आरोप थियो ।

आइतबार काबुललाई नियन्त्रण गरेपछि तालिवानले महिला र बालबालिकालाई पहिलेजस्तै शोषण र अत्याचार गर्ने संशय पैदा भएको थियो । प्रवक्ता मुजाहिदले आफूहरुले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताए ।

राजनीतिक वार्ता जारी रहेको र आफूहरु सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको उनले बताए । साथै उनले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन’ उनले भने ।

काबुलस्थित विदेशी दूतावासहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र कुनै हानी नपुग्ने उनले बताए । ‘हामी विदेशी देशहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं कि सबै दूतावास, मिसन, अन्तर्राष्ट्रिय संगठन र सहायता एजेन्सीको सुरक्षालाई सुनिश्चित गर्छौ’ उनले भने ।

भारत, अमेरिकासहित ती मुलुकका साझेदारले आफ्ना नागरिक र दूतावासलाई फिर्ता लगिरहेको सन्दर्भमा तालिवानी प्रवक्ताले यस्तो बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *