कहिले बन्छन् लुम्बिनीमा तीन महानगर ? – Nepal Press

कहिले बन्छन् लुम्बिनीमा तीन महानगर ?

रुपन्देही । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने तयारी भएको धेरै भयो । प्रादेशिक संरचनामा जाँदा साविकका लुम्बिनी, राप्ती र भेरी अञ्चलका १२ जिल्लालाई समेटेर यो प्रदेश बनाइएको थियो ।

साविकका तीन अञ्चलका मुख्य शहरमा तीनवटा महानगर बनाउनेगरी शुरुवात गर्न खोजिएपनि त्यसले मूर्त रुप पाउन सकेको छैन । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा प्रमुख ३ शहरी क्षेत्रलाई महानगरको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।

साविकका लुम्बिनीको बुटवल–भैरहवा, भेरीको नेपालगञ्ज–कोहलपुर र राप्तीको घोराही–तुल्सीपुरलाई महानगरको रुपमा विकास गर्ने भन्दै नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०७५/०७६ मा समावेश भएपनि प्रदेश सरकारको तर्फबाट यसबारे अहिलेसम्म कुनै पनि काम अगाडि बढेको छैन ।

लुम्बिनी प्रदेशमा अहिले ४ वटा उपमहानगरपालिका छन् । जुन अहिलेको स्थानीय तहमा जनप्रतिनिधि आउनुअगावै घोषणा भइसकेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष ०७५–०७६ मा ३ वटा महानगर बनाउने भन्दै नीति तथा कार्यक्रममा योजना समावेश गरेको भएपनि त्यहीबेला संघीय सरकारले महानगर जस्तै मेगासिटीको अवधारणा अघि सारेपछि मन्त्रालयले यसबारेमा कुनै पनि काम गरेको छैन ।

ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता धु्रव धितालले संघीय सरकारले शुरु गर्ने भएपछि प्रदेशले अगाडि बढाउन नपरेको जानकारी दिए । ‘संघीय सरकारले नै यसको डिपीआर बनाउने, अध्ययन गर्ने भएकाले प्रदेशले यो योजनालाई अगाडि बढाएको छैन । नीति तथा कार्यक्रममा मात्र यो समावेश भएको हो’, धितालले भने । प्रदेशको क्षमताले महानगर बनाउन नसकिने, सम्भाव्यता अध्ययनका लागि विज्ञता नभएकाले यसको सबै काम संघीय सरकारले गर्ने र समन्वय मात्र प्रदेश सरकारले गर्ने धितालको भनाइ छ ।

स्थानीय सरकारको तयारी

आफ्नो कार्यकालको अन्तिम बजेट ल्याइसकेका यी क्षेत्रका जनप्रतिनिधि भने आफ्नै पालामा महानगरको काम शुरुवात गर्न चाहन्छन् । बुटवल भैरहवालाई जोडेर महानगरको कल्पना गरिएको र यसको केन्द्र तिलोत्तमा नगरपालिका हुने केही महिनाअघि अर्थमन्त्री रहेका रुपन्देहीबाट संघीय सांसद रहेका नेता विष्णु पौडेलले सार्वजनिक कार्यक्रममै भनेका थिए ।

पौडेलले ‘के कति कारणले यसअघि महानगर घोषणा हुन पाएन भन्ने धेरैलाई थाहा छ, अब यसको तयारी भइसकेको छ’ भनेका थिए । उनले आफ्नो निर्वाचन क्षेत्रसमेत जोडेर महानगरको कल्पना गरिसकेको बताए । तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले पनि महानगर आवश्यकता रहेको बताउँदै यस विषयमा सम्पूर्ण राजनीति दलहरु बीच सहमति जरुरी रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले महानगर लुम्बिनी प्रदेशको विकासका लागि आवश्यकता रहेको बताए । उनले महानगर बन्ने आवश्यक मापदण्डहरु बुटवल भैरहवा क्षेत्रमा पुगेको भन्दै दलीय सहमति गर्न पनि समस्या नरहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य, एयरपोर्ट, जनसंख्या सबै मापदण्ड पूरा भएको भन्दै संघ र प्रदेश सरकारले महानगर बनाउन ढिला गर्न नहुने बताए । महानगर बन्दा अन्तर्राष्ट्रिय छवि माथि उठ्नुका साथै मेगा प्रोजेक्टसमेत महानगरमा पर्नसक्ने भएकाले प्रदेशको समृद्धिको आधार महानगर बनेपछि बलियो बन्ने उनको तर्क छ ।

नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापामगरले महानगर बनाउने अभियानमा उपपमहानगरपालिका लागेको र नगरसभाबाट महानगरका लागि प्रस्ताव समेत पारित गरिसकेको बताइन् । उनले भनिन्, ‘महानगर बनाउनका लागि के कस्ता पूर्वाधार छन् । अझ पूर्वधारको विकास के थप गर्न सकिन्छ भनेर हामीले डिपीआर गराउँदै छौं । त्यसका लागि अहिले अध्यायन भइरहेको छ’, उनले भनिन् ।

उनले महानगर भएपछि विकास, नागरिक पहुँचमा अवसरहरु धेरै प्राप्त हुने भएकाले यसलाई छिटो कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले उपमहानगर पालिका भइरहेकै अवस्थामा करका विषयहरु पनि चर्चामा आइरहेको बताउँदै करको विषयमा समस्या छ भन्दैमा अवसरहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताइन् । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका ३ ठूला शहरलाई महानगर बनाउने कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह भने आतुर रहेको जनप्रतिनिधिका भनाइबाट प्रष्ट हुन्छ ।

महानगरका लागि यस्ता छन् मापदण्ड

लुम्बिनीमा अहिले ४ वटा उपमहानगरपालिका छन् । रुपन्देहीमा बुटवल, दाङमा घोराही र तुल्सीपुर, बाँकेमा नेपालगन्ज उपमहानगरपालिका छन् । सरकारले महानगरका लागि ३ लाख जनसंख्या, ५ सय शैय्याको विशेषज्ञ अस्पताल, रंगशाला, विमानस्थल, टर्मिनलसहितको बसपार्क, प्राविधिक शिक्षालय, तरकारी थोक बजार केन्द्रलगायतका मापदण्ड राखेको छ । लुम्बिनी प्रदेशमा अहिले महानगरको आकंक्षा राखेका तीनै शहरमा यीमध्ये धेरै मापदण्ड पुग्ने स्थानीय सरकारको भनाइ रहेको छ ।

संघीय सरकारले बुटवल भैरहवासहितका क्षेत्रलाई समेटेर मेगासिटी बनाउने भन्दै बजेटमा यो कार्यक्रम समावेश गरेको छ । त्यसबाहेक नेपालगञ्ज, तुल्सीपुरलाई मेगासिटी बनाउने विषयमा पनि मन्त्रालयले अध्यायन गरिरहेको छ ।

यस कार्यक्रम हेर्ने संघीय सरकारको शहरी विकास मन्त्रालयका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले महानगर भनेर कुनै पनि कार्यक्रम अघि नबढे पनि मेगासिटीकै परिकल्पनाजस्तै हुनेगरी बुटवल, भैरहवा, लुम्बिनी र कपिलवस्तुसम्मको क्षेत्रलाई पश्चिम कोरिडोर बनाएर एकीकृत विकास गर्ने गरी अहिले सम्भाव्यता अध्यायन भइरहेको बताए । तुल्सीपुर र नेपालगञ्जमा पनि मेगासिटी बनाउन सकिनेबारे अध्ययन भइरहेको वाग्लेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर