शिक्षक विद्यार्थीको प्रश्नः जुलुस गर्दा कोरोना नसर्ने, विद्यालय खोल्दा सर्ने हो ? – Nepal Press

शिक्षक विद्यार्थीको प्रश्नः जुलुस गर्दा कोरोना नसर्ने, विद्यालय खोल्दा सर्ने हो ?

सुर्खेत । सुर्खेतका शिक्षक, अभिभावक तथा विद्यार्थीले ‘जुलुस गर्दा कोरोना नसर्ने, विद्यालय खोल्दा सर्ने हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा भन्छन्– हामीले कक्षा ११ को परीक्षा पनि लिइसकेका छौं । कक्षा १२ को परीक्षा लिने अन्तिम तयारी गरिसकेका थियौं । परीक्षा मात्रै होइन, कक्षाहरु पनि भौतिक रुपमा सञ्चालन गर्न सकिने आधार तयार पारिरहेका थियौं । सरकारले तोकेको मापदण्ड पालना गरेरै भएपनि हामी कक्षा सञ्चालन गर्न चाहन्छौं । तर सरकारले नै छापामारशैलीमा विद्यालय सञ्चालन गर्न र परीक्षा सञ्चालन गर्न रोक लगाएपछि हामीले के गर्नु ?

दैलेखको आठबीस नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमित देखिएका छैनन् । त्यहाँ कोरोना संक्रमित नदेखिएप नि विद्यालय भने पूर्णरुपमा बन्द छन् । कर्णाली प्रदेशअन्र्तगत सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण नगरपालिकालगायत सदरमुकाम रहेका पालिकाहरुमा कोरोना संक्रमण देखिए पनि वीरेन्द्रनगरबाहेक अन्य जिल्लामा भयावह स्थिति देखिएको छैन ।

जिल्लामा पसलहरु खुलेका छन् तर विद्यालयहरु खुल्न सकेका छैनन् । विद्यालय खोल्दा बालबालिकामा कोरोना सर्ने भय देखाउने गरेको सरकारले आन्दोलन गर्न, नारा जुलुस गर्न, विभिन्न दल निकटका कार्यक्रमहरु गर्न भने रोक लगाउन सकेको छैन । बारम्बार २५ जना भन्दा बढी भेला हुन नदिने उर्दी जारी गर्ने गरेको जिल्ला प्रशासन कार्यालय जुलसका अघि निरीह बनेको छ ।

तीन दिनअघि मात्रै नेकपा एमाले माधव नेपाल समूहले वीरेन्द्रनगरको एक हलमा कार्यक्रम गर्यो । त्यसको एक दिन पछि सुकुम्वासी तथा भूमिहीनहरुको हजारौंको संख्याले ¥याली मात्रै निकालेन, जिल्ला प्रशासन कार्यालयमै गएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझायो ।

नेपाली कांग्रेसका हरेक कार्यक्रमहरु अहिले गाउँ केन्द्रित भइरहेका छन् । महाधिवेशनको चटारोमा रहेको काँग्रेसले हरेक वडामा केही न केही कार्यक्रम गर्दै आइरहेको छ । नेकपा माओवादी केन्द्रले पनि गाउँ जाने अभियान सञ्चालन गरेको छ भने केही दिनअघि सुर्खेतका विभिन्न पालिकामा भेला तथा कार्यक्रमको माओवादी केन्द्रले आयोजना गरिरहेको छ ।

राजनीतिक दलका कार्यक्रम हुन वा अन्य कुनै समुदायको अधिकार प्राप्तीका आन्दोलनहरु होउन्, न त्यहाँ सामाजिक दूरी कायम गरिएको छ न त कुनै त्यहाँ स्वास्थ्य मापदण्ड नै अपनाइएको छ । यसरी हेर्दा सरकारले शिक्षा क्षेत्रलाई तहसनहस हुने खालको नीति अवलम्बन गर्दै आइरहेको सरोकारवालाहरुको गुनासो छ ।

‘शिक्षा क्षेत्रलाई मात्रै टार्गेट गर्न हुँदैन । पछिल्लो समयमा विद्यार्थीहरु थप कमजोर बन्दै गइरहेका छन् । जहाँ जहाँ कोरोनाको भयावह स्थिति छ, त्यहाँबाहेक अन्य क्षेत्रमा विद्यालय सञ्चालन गर्ने राज्यले नीति ल्याउन आवश्यक छ’, भैरव माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक मोतिराम पुरी भन्छन्, ‘सरकारले बेलैमा यसतर्फ ध्यान नदिएको खण्डमा विद्यार्थीहरुको भविष्य चौपट हुने खतरा छ ।’

सुर्खेतमा नीजि विद्यालयहरुले अहिले पहिलो त्रैमासिक परीक्षा लिइरहेका छन् । उनीहरुले अनलाईनमार्फत परीक्षा लिइरहेको एक नीजि विद्यालयका प्रिन्सिपलले बताए ।

‘हामीले अनलाईनबाट कक्षा सञ्चालन गर्दै आइरहेका छौं तर प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । विद्यालय खोल्ने वातावरण सरकारले बनाउन नसकेका कारण अधिकांश विद्यार्थीहरु गाउँमा नै छन्’, उनी भन्छन्, ‘यो कोरोना भनेको विद्यार्थीका लागि मात्रै आएको हो कि भन्ने लागिरहेको छ । विद्यालयमा हामीले पूर्णरुपमा स्वास्थ्य मापदण्ड कायम गरेर अध्यापन गराउँछौं भन्दा पनि राज्यले अनुमति दिइरहेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर