२२ सांसदलाई कारवाही गर्न कानूनी छिद्र, सभामुखले १५ दिन झुलाउँदा अर्को दल बनिसक्छ – Nepal Press

२२ सांसदलाई कारवाही गर्न कानूनी छिद्र, सभामुखले १५ दिन झुलाउँदा अर्को दल बनिसक्छ

काठमाडौं । सरकारले अध्यादेश ल्याउनुभन्दा अगाडि नै शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदलाई कारवाही गरेर संसद सचिवालयलाई सूचना दिनेबारे एमालेमा छलफल चलेको छ ।

नेपालसहित २२ सांसदलाई एमालेले कारवाही प्रक्रिया अघि बढाएर स्पष्टीकरण सोधिसकेको छ । उनीहरुले स्पष्टीकरण दिए पनि त्यसपछि कुनै कारवाही अघि बढेको छैन ।

पार्टी विभाजन गर्ने अध्यादेश ल्याउनुभन्दा अगाडि उनीहरुलाई कारवाही गरिएको पत्र संसद सचिवालयमा एमालेले दर्ता गर्न सक्छ । तर सभामुखले त्यसलाई अघि बढाउनुभन्दा अघि नै सरकारले अध्यादेश ल्याइदिएर अर्को दलको मान्यता पाउने अवस्था रहन्छ ।

यसबीचमा माधव नेपालपक्षीय सांसदले संसदीय दलको ह्वीप उल्लंघन दुईपटक गरिसकेकाले कारवाहीको कानूनी आधार पुगेको दावी एमाले नेताहरुको छ । विभाजनको बेलासम्म को को माधव नेपालको पक्षमा रहन्छन् भन्ने टुंगो नलागेका कारण कारवाही गर्ने वा नगर्ने भन्ने अन्योलमा एमाले नेतृत्व छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा तयसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।

सो कारवाहीको सूचना सचिवालयले सभामुख समक्ष पेश गर्नुपर्छ । सभामुखले सो सूचना दर्ता भएको मितिले १५ दिनभित्र सदनलाई दिनुपर्ने कानूनी व्यवस्था छ ।

तर संसद अधिवेशन अन्त्य भएको अवस्थामा सचिवालयले सूचना पाटीमा टाँस गर्नुपर्छ । सभामुख अग्नि सापकोटाको भूमिका एमाले विभाजनकै पक्षमा हुने भएकाले १५ दिनको कानूनी प्रावधानमा टेकेर उनले कारवाही धकेल्ने र यहीबीचमा अध्यादेश आउने आशंका एमालेको छ ।

सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन् । लुम्बिनी र गण्डकीका सभामुखले यहि प्रक्रिया अपनाएर राजमो र जसपाको महन्थ पक्षका सांसदलाई तत्कालै पदमुक्त गरेका थिए ।

२२ प्लस पाँचको जमघट

संसद अधिवेशन अन्त्य भएकै दिन माधव नेपाललाई अन्तिम अवस्थासम्म साथ दिएका २२ जना सांसदको जमघट सोमवार साँझ किसान श्रेष्ठको निवासमा भएको थियो । सो जमघटको अन्तिममा माधव नेपाल समेत मिसिएको एक सहभागीले बताए ।

देउवालाई विश्वासको मत दिने २२ जना भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमारी झाँक्री, निरा जैरु, कल्याणी खड्का, पुष्पा कर्ण, सरला यादव, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, किसान श्रेष्ठ, धनवहादुर बुढा, गोपाल बम, पार्वती विसुंखे लगायतका सांसद एक ठाउँमा छन् ।

त्यस्तै सोमवारको जमघटमा विश्वासको मतका बेला अनुपस्थित भएका यज्ञराज सुनुवार, झपट रावल, राजवहादुर बुढा र सोमप्रसाद पाण्डे पनि थपिएका थिए भने विश्वासको मतको विपक्षमा उभिएका जयकुमार राई पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

त्यसअघि माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहभागी भएका थिए । नेपालले अब आफूहरु सरकारमा सहभागी हुन तयार रहेको भन्दै आवश्यक कानूनी प्रबन्ध मिलाउन आग्रह गरेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर