संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्रीद्वारा राजीनामा – Nepal Press

संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्रीद्वारा राजीनामा

क्वालालाम्पुर । संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्री मुहियाद्धिन यासिनले आज पदबाट राजीनामा दिएका छन् । पछिल्लो महिना गठबन्धनमा विवाद भएपछि यासिनको सरकार ढल्ने टिप्पणीहरु भैरहेका थिए ।

सोमबार उनले राजीनामा त्यहाँका राजालाई बुझाएको यासिनको मन्त्रीमण्डलका एक प्रभावशाली मन्त्री खैरी जमालुद्दिनले जानकारी दिए ।

१७ महिना प्रधानमन्त्री कार्यकाल बिताएका यासिनको राजीनामा पछि कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्ने र भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा धक्का लाग्ने जनाइएको छ ।

मलेसियाको स्टक मार्केटमा त्यहाँको मुद्रा रिंगिटको मूल्य यसवर्ष अहिलेसम्मकै न्यून विन्दूमा पुगेको थियो । संसदमा कसैको बहुमत पनि नपुगेपछि अबको प्रधानमन्त्री को बन्नेछ भन्ने टुंगो छैन ।

मलेसियामा पूर्वी एसियाकै सर्वाधिक भाइरस संक्रमण दर कायम छ । संवैधानिक राजा अल सुल्तान अब्दुल्लाले अब बहुमत पुष्टि गर्ने संसदका एक सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर