उत्पादनको क्षेत्रमा ६० प्रतिशत लगानी गर्न बचत तथा ऋण सहकारीलाई अर्थमन्त्रीको आग्रह – Nepal Press

उत्पादनको क्षेत्रमा ६० प्रतिशत लगानी गर्न बचत तथा ऋण सहकारीलाई अर्थमन्त्रीको आग्रह

गरिब जनताबाट लिने गरेको १८ प्रतिशत ब्याज घटाउन सुझाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादन क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूसँग आग्रह गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवस समारोहमा मन्त्री शर्माले बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेकोमा आपत्ति जनाए । उनको प्रश्न थियो, ‘तपाईंहरूको लगानी केमा केन्द्रित छ ? घर, जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’ उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूहरूलाई आग्रह गरे ।

‘तपाईंहरूका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु’, मन्त्री शर्माले भने, ‘तपाईंहरूले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिवी निवारणमा सहयोग गर्नुस् ।’

सहकारीहरूले गरिब जनताबाट १८ प्रतिशतसम्म ब्याज लिने गरेकोमा त्यसलाई घटाउनुपर्नेमा मन्त्रीको जोड थियो । कतिपय सहकारीले जनताको पैसा ठगेर उठिबास लगाएको, संस्थापकहरूले नै जनताको सम्पत्ति हिनामिना घटनाहरू देखिएकोतर्फ त्यसमा नेफ्स्कुनले ध्यान दिन उनले आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत संघहरूमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आबद्ध छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आबद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर