अफगानिस्तानमा कसरी पुग्छन् नेपाली ? यस्तो छ भित्री जालो ! – Nepal Press

अफगानिस्तानमा कसरी पुग्छन् नेपाली ? यस्तो छ भित्री जालो !

काठमाडौं । नेपाल सरकारले सामान्यतया अफगानिस्तानका लागि श्रम स्वीकृति दिने गरेको छैन । तर बर्सेेनी हजारौको संख्यामा नेपाली वैध-अवैधरुपमा अफगानिस्तान पुग्ने गरेका छन् ।

सुरक्षा संवेदनशीलताका कारण वैदेशिक रोजगार विभागले ११० वटा देशमध्ये अफगानिस्तान, लिविया र इराकका लागि श्रम स्वीकृति नदिएको हो । त्यसमा पनि अफगानिस्तान एक नम्बरमा नै छ । फेरि पनि कसरी नेपालीहरु अफगानिस्तान पुगिरहेका छन् त भन्ने प्रश्न उठ्छ ।

रोजगार विभागका अनुसार १ हजार ५ सय मात्रै नेपाली बैधानिक बाटो भएर अफगानस्तानमा रोजगारीका लागि गएका छन् । बाँकी सबै अवैधानिक बाटो भएर गएका छन् । अहिले अफगानिस्तानमा १० हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद खवाडीले एकपटक अफगानिस्तानमा काम गरेर फर्केकाहरुलाई श्रम स्वीकृति दिने गरेको बताए ।

उनले भने, ‘सुरुमा नै अफगानिस्तामा रोजगारीको लागि नेपालले श्रम स्वीकृती दिँदैन । एकपटक गएर आएका नेपालीहरुलाई पनि त्यो देश असुरक्षित छ र जान हुँदैन भनेर जानकारी गराउने गरेका छौं । तर, नेपालबाट दुबई काम गर्न गएका नेपालीहरु उतैबाट युएनलगायतका परियोजनाहरुमा काम गर्न अफगानिस्तान जाने गरका छन् ।’

अफगानिस्तानबाट नेपाल आउँदा नेपालीले डिमान्ड लेटर नै लिएर आउने गरेको उनी बताउँछन् ।

‘त्यो डिमाण्ड लेटरमा कम्पनीको नाम, छाप, कम्पनी रहेको स्थान लगायत उल्लेख भएको हुन्छ । उसले त्यहाँ पहिले नै काम गरिसकेको हुन्छ,’ उनले भने ।

हुनेखाने नेपालीहरु लाखौं खर्च गरोर अबैध बाटो भएर अमेरिका, जापान र क्यानडा लगायतका देशमा जाने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरु ३ लाखदेखि ५ लाखसम्म खर्च गरेर अफगानिस्तान जाने गरेको जानकारहरु बताउँछन् ।

अफगानिस्तानमा पूर्व सैनिक (नेपाली), अवकासप्राप्त सेना र प्रहरी तथा युवाहरु समेत जाने गरेका छन् । नेपालबाट अबैध बाटो भएर गएका नेपालीले सैनिक क्याम्पभित्र काम गर्ने गर्छन् । उनीहरुको मासिक तलब १ लाख ५० हजारदेखि २ लाख ५० हजारसम्म हुने गरेको छ । अफगानिस्तान जानका लागि ५ लाखसम्म खर्च हुन्छ ।

यस्तो छ जालो

जानकारका अनुसार दुबइमा रोजगारीका लागि गएका नेपालीहरु दुबइको कम्पनीबाट श्रम स्वीकृत लिएर बैधानिक बाटो भएरै अफगानिस्तान जाने गरेका छन् । दुबइ हुँदै अफगानिस्तानमा रोजगारीमा गएका नेपालीहरुले त्यहाँबाट डिमाण्ड लेटर लिएर नेपाल आउँछन् । त्यही डिमाण्ड लेटरको आधारमा बैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने गरेको छ ।

दलालमार्फत पनि नेपालीहरु अफगानिस्तानमा रोजगारीका लागि जाने गरेको पाइन्छ । यसरी जाँदा उनीहरु भिजिट भिसामा दुबइ गएर त्यहाँबाट अफगानिस्तान जान्छन् । दलालले दुबइमा केही दिन राखेर अफगानिस्तान पठाउने गरेका छन् ।

११ वर्ष अफगानिस्तानमा बसेर आएका नुवाकोटका रामसिंह लामाले अहिले समचारमा आएजस्तो अफगानिस्तानमा भएका नेपालीहरुलाई खतरा नभएको दावी गरे ।

लामाले भने, ‘म पनि १ महिना अगाडि मात्रै नेपाल आएको हुँ । म हुँदा पनि त्यहाँ युद्ध चलि नै रहेको थियो । नेपालीहरु आर्मी क्याम्पमा काम गर्ने हो । त्यहाँ केही समस्या भइहाल्यो भने पनि अफगानिस्तानमा भएका अमेरिकी र स्वदेशी आर्मीले हामीलाई हटाएर मात्रै युद्ध सुरु गर्ने गरेका थिए ।’

आफू अहिले पनि अफगानस्तानमा भएका नेपाली साथीहरुसँग सम्पर्कमा रहेको र दैनिक कुरा हुनेगरेको लामाले बताए ।

‘उनीहरुले त्यहाँ केही समस्या नभएको बताएका छन्,’ उनले भने ।

लामाले ११ वर्ष अगाडि अफगानिस्तान जाँदा १ लाख खर्च गरेका थिए । सन् २०११ देखि ११ वर्ष अफगानिस्तानमा बस्दा केही समस्या नभोगेको उनले बताए ।

लामाका अनुसार नेपालीहरुले काबुलका आर्मी क्याम्पमा खाना पकाउने, आर्मी क्याम्पको सुरक्षा गर्ने लगायतका काम गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर