फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण – Nepal Press

फुटबल खेलाडी शान्तालाई सहयोग हस्तान्तरण

काठमाडौं । आर्थिक अवस्था कमजोर भएकी फुटबल खेलाडी शान्ता नेपालीलाई शुक्रबार आर्थिक सहयोग गरिएको छ । नेप्लेज मिडियाको पहलमा स्वदेश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा ब्यक्तिहरुको सहयोगमा सङ्कलित दुई लाख ५९ हजार रूपैयाँ शान्ता नेपालीलाई हस्तान्तरण गरिएको हो ।

वालिङ नगरपालिका-८ मा डेरामा बस्दै आएकी शान्ताको जग्गा जमिन नभएको र परिवारको आर्थिक स्थिति कमजोर भएपछि नेप्लेज मिडियाको पहलमा सङ्कलन गरिएको रकम वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले हस्तान्तरण गरेका हुन् । घरबारबिहीन शान्ताको परिवारलाई वालिङ नगरपालिकाले घर निर्माणका लागि करिब पाँच आना घडेरी खरिद गरिसकेको नगरप्रमुख खाँणले बताए ।

‘खेल क्षेत्रमा गरिएको खर्च खर्च नभई लगानी हो’, प्रमुख खाँणले भने, ‘यसले तत्कालभन्दा पनि केही समयपछि मात्रै उपलब्धी दिने गर्छ ।’ खेलाडी तथा उसको परिवारका लागि आवश्यक सहयोग गर्न नगरपालिका सदैब तत्पर रहेको बताउँदै नगर प्रमुख खाँणले खेलाडीलाई जीवनयापनका लागि रोजगारीको अवसर र एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थापन गरिदिने उल्लेख गरे ।

‘नगरपालिकाबाट खेल क्षेत्र तथा खेलाडीको क्षमता विकास तथा आवश्यक सहयोगका लागि पटक पटक रकम विनियोजन गर्‍यौँ’, नगर प्रमुख खाँणले भने, ‘तर नगरले विनियोजन गरेको रकम खर्च हुन नसक्नु दुःखद् हो ।’ आर्थिक अभावका कारण ज्याला मजदूरी गर्नुपर्ने बाध्यताका कारण दैनिक फुटबल प्रशिक्षणमा सहभागी हुन समस्या भइरहेको प्रशिक्षक दिलीप थापाले बताए । शान्ता फुटबल खेलप्रति अत्यन्तै रुचि राख्ने खेलाडी र राम्रो खेल खेल्दै आइरहेको तर घरायसी समस्याले खेल क्षेत्रबाट उदाउँदो खेलाडी गुमाउन नपरोस् भन्ने उद्देश्यले नगर प्रमुखसमक्ष गरेको अनुरोधको सुनुवाइ भएको प्रशिक्षक थापाले बताए ।

‘मलाई खेल खेल्न र अझै प्रशिक्षण लिएर राष्ट्रिय टिमबाट खेल प्रदर्शन गर्न इच्छा छ’, खेलाडी शान्ताले भनिन्, ‘आगामी दिनमा अझै जिम्मेवारी थपिएर गएको छ र मेरो सपनालाई एकदिन पक्कै पनि साकार पारेर छोड्ने छु ।’ शान्ता महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिकाको टिमबाट प्रतियोगितामा सहभागी अग्रपङ्क्तिकी खेलाडी हुन् । विभिन्न राष्ट्रिय खेलमा उनी सहभागी हुँदै आएकी छिन् ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर