सरकारले भन्यो : अफगानिस्तानबाट तत्काल नेपालीलाई फिर्ता बोलाउनुपर्ने अवस्था छैन – Nepal Press

सरकारले भन्यो : अफगानिस्तानबाट तत्काल नेपालीलाई फिर्ता बोलाउनुपर्ने अवस्था छैन

परिस्थितीलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा नेपालीहरु सुरक्षित रहेको जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको बताइन् ।

‘हामीले अफगानिस्तानको पछिल्लो अवस्थालाई नियालिरहेका छौं’ उनले भनिन्, ‘त्यहाँस्थित नेपाली र उनीहरुका परिवारले कुनै गुनासो गर्नुभएको छैन । अहिलेसम्म नेपालीहरु ग्रीनजोनमै छन् ।’

नेपालीलाई तत्काल फिर्ता बोलाउने अवस्था नरहेको उनले बताइन् ।

नेपालीहरु विभिन्न कम्पनीसँगको सम्झौताको आधारमा अफगानिस्तानमा सुरक्षा गार्ड लगायतका काममा कार्यरत छन् । प्रायः नेपालीहरु राजधानी काबुलस्थित विदेशी मिसन, राष्ट्रसंघ र अमेरिकी कम्पनीमा कार्यरत छन् । यो क्षेत्रलाई त्यहाँ ग्रीनजोन अर्थात सुरक्षित मानिन्छ ।

अहिले अफगानिस्तानमा १०० जना नेपाली रहेको सरकारको तथ्यांक छ । ‘हामीले परिस्थितीलाई नजिकबाट नियालिरहेका छौं र त्यहाँ रहेका नेपालीलाई समस्या परे उपयुक्त निर्णय लिइनेछ’ प्रवक्ता लम्सालले भनिन् ।

अहिले तालिवान विद्रोहीले अफगानिस्तानका मुख्य प्रान्तीय राजधानीहरु कब्ब्जामा लिन थालेपछि विभिन्न देशले त्यहाँबाट आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाउन थालेका छन् । चीनले गत महीना विमान पठाएरै नागरिकलाई उद्दार गरेको थियो भने भारतले पनि फिर्ता हुन भनिरहेको छ ।

तालिवान विद्रोहीले आजसम्म कान्दाहारसहित १० प्रान्तीय राजधानीलाई कब्जामा लिइसकेका छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्न सुरु गरेपछि तालिवान विद्रोहीले एकपछि अर्को गरी राजधानीलाई कब्जामा लिएका छन् । ९० दिनभित्र राजधानी काबुल पनि कब्जामा लिन सक्ने आंकलन अमेरिकाको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर