गिरिजालाई कालोझण्डा देखाउँदा जागिर गुमाएका केसी कांग्रेसकै समर्थनमा मुख्यमन्त्री – Nepal Press

गिरिजालाई कालोझण्डा देखाउँदा जागिर गुमाएका केसी कांग्रेसकै समर्थनमा मुख्यमन्त्री

निलम्बित शिक्षक, सैन्य कमिसार हुँदै मुख्यमन्त्रीसम्म

बुटवल । मुख्यमन्त्रीको कमाण्ड आजैदेखि सम्हालेका कुलप्रसाद केसी‘सोनाम’को राजनीतिक यात्रा संघर्षमय छ ।

सामान्य किसान परिवारमा वि.सं २०२७ साल माघ १० रोल्पाको तत्कालीन कोटगाउँ गाविस २ जिबाङमा उनको जन्म भएको थियोे ।
सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका केसीले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।

२०४३ सालमा राजनीतिसँग नजिक बनेका उनीले ०४६ सालदेखि विद्यार्थी राजनीति शुरु गरेका हुन् । तत्कालीन मशालको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति शुरु गरेका केसी केही समयपछि माओवादीमा लागेका थिए ।

जनयुद्ध जारी रहेकै अवस्थामा ताराकुमारी घर्तीमगरसँग विवाह गरेका केसीका १६ वर्षीय एक छोरी र ४ वर्षका एक छोरा छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका केसी निकै कम बोल्ने गर्दछन् ।

अखिलको साधारण सदस्यबाट राजनीति शुरु गरेका केसी उही वर्ष बिद्यार्थी संगठनको जिल्ला सदस्य बनेका थिए ।

२०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरेका केसीले औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरी एरिया सेक्रेटरीको जिम्मेवारी दिएको थियो ।

२०४८ सालमा स्थायी शिक्षकमा रुपमा पढाउन सुरु गरेका केसीले शिक्षण पेशासँगै राजनीतिलाई निरन्तरता दिए । राजनीतिमा समय बढ्दै गएपछि उनको शिक्षण पेशा निरन्तर हुन सकेन ।

२०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालोझण्डा देखाएको अभियोगमा उनलाई राजनीतिक मुद्दा लगाएर शिक्षकबाट निलम्बनमा परेपछि उनको शिक्षण यात्रा रोकिएको थियो।

२०५० सालबाट केसीले भूमिगत राजनीति शुरु गरेका उनी माओवादीले जनयुद्ध शुरु गर्दा जिल्ला समिति सदस्यको जिम्मेवारीमा पुगिसकेका थिए ।

भूमिगतकालमै सोनाम र ताराकुमारीबीच २०५२ फागुन ११ गते जनवादी विवाह भएको थियो । उनीसँगै त्यो जनबादी विवाहको कार्यक्रममा माओवादी नेता वर्षमान पुन र ओनसरी घर्ती तथा रणबहादुर केसी र आशा पुनको विवाह भएको थियो।

माओवादीले पहिलो पटक होलेरी आक्रमण गर्दा उक्त मोर्चामा केसीसँगै उनकी श्रीमति ताराकुमारी पनि सहभागि थिइन्।

२०५५ सालमा दाङ–सल्यान–प्युठान संयुक्त जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा नेतृत्व गरेका केसी २०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार हुँदै २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी कामकै शिलशिलामा २०६० सालमा भारत जाँदा केसी श्रीमति ताराकुमारीसहित भारतको पटनाबाट पक्राउ परेका थिए ।

३ वर्ष ३ महिना उनीहरुले भारतको बक्सर जेलमा कैदी जीवन बिताएका थिए।
२०६३ सालमा जेलमुक्त भएपछि सोनाम पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारीसमेत सम्हाले ।

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दिएको थियो ।

माओवादी पार्टीको विभाजन भएपछि भने केसी केही समय रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्य समूहमा आवद्ध भए । २०७३ सालमा उनी बादलसँगै माओवादी केन्द्रमा फर्किए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)बाट उम्मेदवार बनायो र उनी निर्वाचित भए।

एमाले र माओवादी एक नहुँदासम्म माओवादी केन्द्र संसदीय दलको नेता बनेका उनी पार्टी एकिकरण भएर नेकपा बनेपछि पार्टीको प्रदेश सहइन्चार्जसहित संसदीय दलको उपनेता बनेर मुख्यमन्त्री शंकर पोखरेलसँग सहकार्यको शुरुवात गरेका थिए ।

पोखरेल नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। आज उनै पोखरेलाई विस्थापन गरेका केसीले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा भने दरिलो साथ दिएका थिए ।

प्रदेश सरकारमा ३ वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका केसीको त्यो समयमा खासै उल्लेखनीय काम गर्न सकेनन् । उनकै पालामा तयार भएको सञ्चार सम्बन्धि विद्येयक सबैभन्दा बढी आलोचित भयो ।

त्यो अहिले पनि संसदमै रोकिएको छ, पत्रकार महासंघको आन्दोलनका कारण । उनै केसी मन्त्री भएकै बेला गतवर्ष असोज २० गते प्रदेशको स्थायी राजधानी सम्बन्धि प्रस्ताव पेश गर्ने बेलामा रोक्न ‘रोस्ट’ममा पुगेका कांग्रेस सांसदलाई घिसारेर बाबहिर निकाली हाल भनी कर्मचारी तथा सुरक्षाकर्मीलाई दिएको निर्देशनको आलोचना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर