कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू) – Nepal Press
कार्यालयमा कार्यकर्ताको आन्दोलन, देउवा निवासमा केन्द्रीय समिति बैठक (तस्बिरहरू)
नेपाल प्रेस २०७८ साउन २८ गते १६:२२
२०७८ साउन २८ गते १६:२२

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक जारी छ ।

सभापति देउवाले पार्टीका आन्तरिक बैठकहरू सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय गरेका थिए । देउवाको सो निर्णयको प्रशंसा भए पनि पार्टीको केन्द्रीय समिति बैठक आफ्नै घरमा राखेका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा रहेकोले बूढानीलकण्ठमा बैठक बस्नुपरेको सभापतिनिकट नेताहरु बताउँछन् ।

‘सभापतिको इच्छा सानेपामै बैठक गर्ने थियो तर त्यहाँ आन्दोलन जारी रहेकोले तत्कालका लागि बूढानीलकण्ठमै बैठक बस्न लागेको हो । सुरक्षा प्रशासनको सुझावसमेत होला’, देउवानिकट एक नेताले भने ।

आजको बैठकले महाधिवेशन सार्ने विषयमा निर्णय गर्ने बताइएको छ । यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।





















तस्बिरहरू : सरोज बैजु ।