कांग्रेसमा महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्- मंसिरमा, पौडेल भन्छन्- असोजमै – Nepal Press

कांग्रेसमा महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्- मंसिरमा, पौडेल भन्छन्- असोजमै

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । आज अबेरसम्म देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा देउवासहित संस्थापन पक्षका नेताहरू कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गर्ने र मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीको संवैधानिक हैसियतमा प्रश्न उठ्ने भन्दै भदौ २३ अगाडि नै तल्लो तहको अधिवेशन शुरू गरेर ढिलोमा असोज पहिलो साता महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएका छन् । दुवै पक्षले अडान यथावत राखेपछि भोलि बैठकमै छलफल गर्ने भन्दै आजको बैठक टुंगिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार २ बजे बूढानीलकण्ठमा बस्दैछ । बैठकअघि नै सहमतिका लागि शीर्ष नेताबीच थप छलफल हुने बताइएको छ । ‘संस्थापन पक्षले दसैँलगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

‘रामचन्द्र दाइले भदौ २३ अगाडि एक तहको अधिवेशनपनि नहुने हो भने संवैधानिक संकट पर्नसक्ने भन्दै असोज पहिलो हप्ता महाधिवेशन गसिक्ने कार्यतालिका बनाउन माग गर्नुभएको छ । आज कुरा मिलेन, भोलि पनि बैठक बस्छौँ’, बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार क्रियाशील सदस्यताको विवाद टुंग्याउन जुटेका नेता बीच मुख्यतः महाधिवेशनको मितिबारे नै कुरा भएको थियो ।

महाधिवेशनको मितिबारे सहमति जुट्नासाथ क्रियाशीलको विवाद पनि टुंगो लाग्ने ती नेताको दावी छ । ‘महाधिवेशनको कुरो मिल्यो भने क्रियाशीलमा धेरै बाँकी छैन । भोलि नै सबै कुरा मिल्न पनि सक्छ’, ती नेताले भने ।

भदौमा महाधिवेशन नहुने निश्चित भएको र सार्नुपर्नेमा दुवै पक्ष तयार भए पनि नयाँ मितिबारे सहमति नजुटेको हो । बैठकमा संस्थापन पक्षका नेताहरूले कोरोनाका कारण लकडाउन गर्न दबाब बढेका बेला सत्ताको नेतृत्व गरेकै पार्टीले महाधिवेशन गर्न खोज्नु उचित नहुने बताएका थिए ।

पौडेलले भने संवैधानिक प्रश्न देखापरेको र न्यायालयले धेरै राजनीतिक विषय समाधन गरिरहेकोले कांग्रेसको वैधानिकता आफैंले जोगाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा नेताहरू डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर