लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै ! – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै !

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ ।

अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।

मंगलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री थप अप्ठेरोमा परेका हुन् ।

एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका थिए ।

४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उनको छाथ छाडेपछि उनी अल्पमतमा परेका हुन् ।

दाङका अमर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमालेसँगै सांसद पदबाट राजीनामा दिए भने नेकपाको उपनिर्वाचनबाट आएकी एमाले सांसद विमला वलीले साथ छाडेर माओवादीतिर लागिन् ।

परिस्थितिमा नाटकीय फेरबदल नभए माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुन सक्नेछन् ।

विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावि मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन् । यसअघि उनी नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

प्रदेश सभामा तेस्रो दलको हैसियतमा रहेको माओवादीले मुख्यमन्त्री पाउने सम्भावनासँगै केसीको भाग्योदय हुनसक्ने देखिएको छ ।

गठबन्धनका ४१ जनाको होटलमा मोर्चाबन्दी

मुख्यमन्त्री पोखरेलविरुद्धको गठबन्धनका ४१ जना सांसदहरुलाई जोगाउन र अबको भागवण्डा मिलाउन दुई दिनअघि कपिलवस्तुको राजापानी रिसोर्ट लगिएकोमा बुधबार लुम्बिनीको बुद्ध गार्डेन होटलमा राखिएको छ ।

को हुन् अबका मुख्यमन्त्री कुलप्रसाद ?

विपक्षी गठबन्धनबाट अबको मुख्यमन्त्रीमा अगाडि सारिएका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम हुन् । उनी मुख्यमन्त्री शंकर पोखरेलसँगै आन्तरिक मामिला तथा कानून मन्त्री भएर ३ वर्षभन्दा बढी सहकार्य गरे ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बैशाख ६ गते राजीनामा दिएर अविश्वासको प्रस्तावमा उनले हस्ताक्षर गरेका थिए ।

रोल्पा-६ लिवाङ घर भएका केसी त्यहीँबाट चुनाव जितेका हुन् । २०४६ सालमा नेकपा मसालबाट राजनीति शुरु गरेका उनले एसएलसीसम्मको अध्ययन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर