रामचन्द्र पौडेलको आरोप : देउवाले हिजो विधान मिचे, आज संविधान मिच्दैछन् – Nepal Press

रामचन्द्र पौडेलको आरोप : देउवाले हिजो विधान मिचे, आज संविधान मिच्दैछन्

'पञ्चायतकालमा प्रतिबन्धित नेपाली कांग्रेस थियो, देउवाले अवैधानिक बनाउने भए'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको आरोप लगाएका छन् । आफूनिकट जिल्ला सभापतिहरुको बैठकमा बोल्दै नेता पौडेलले पञ्चायतकालमा कांग्रेसलाई प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस) भन्ने गरिएकोमा अब देउवाले अनेका (असंवैधानिक नेपाली कांग्रेस) बनाउन खोजेको बताए ।

‘पञ्चायतकालमा प्रतिबन्धित थियौं । कांग्रेसलाई प्रनेका भनिन्थ्यो । अब विधान र संविधानको उल्लघंन गरेर कांग्रेसलाई देउवाले अनेका बनाउने भए । अनेका भनेको असंवैधानिक नेपाली कांग्रेस है’, पौडेलले भने ।

उनले महाधिवेशन सार्ने कुरा आफूलाई मान्य नरहेको बताए । पार्टीको विधानले ४ वर्षको कार्यकाल तोकेपनि सभापतिले बारम्बार विधान उल्लघंन गरेको र अहिले संविधान नै मिच्न खोजेको आरोप लगाए । ‘हिजो विधान मिचे, आज संविधान मिच्न खोज्दैछन् । मैले पहिले नै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरौं भन्दा मान्नुभएन । अब अहिले हस्ताक्षर जुटाउदा पनि संवैधानिक सीमाभित्र विशेष महाधिवेशन हुँदैन । त्यसैले जसरी हुन्छ संविधानले तोकेको म्यादभित्रै निर्वाचन गर्नुपर्छ’, पौडेलले भने ।

संविधानले प्रदेश र संघीय पदाधिकारीको निर्वाचन ढिलोमा साढे ५ वर्षभित्र गर्नैपर्ने व्यवस्था गरेको भन्दै पौडेलले कांग्रेसमा अब महाधिवेशन नभएर निर्वाचन मात्रै हुने बताए । ‘तत्काल क्रियाशीलको काम टुंग्याएर साउन २८ गते महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका तयार गरौं । ढिलोमा भदौ १८ मा क्षेत्रीय अधिवेशन सकेर देशैभरका महाधिवेशन प्रतिनिधि छानौ । लगत्तै प्रदेश प्रदेशमा नभए जिल्लामै मतदान गरेर भएपनि संविधानले भनेको निर्वाचन गरौ’, पौडेलले भने । उनले कोभिडका कारण महाधिवेशन हुँदैन भन्नु लज्जास्पद रहेको बताए । ‘कोभिडका कारण संसारमा कहि निर्वाचन रोकिएको छैन । अमेरिका र भारतमा मात्रै होइन नेपालमै पत्रकार र उद्योगीको चुनाव भइसकेको छ । कोभिडले नहुने हो भने त यही कार्यक्रम पनि नहुनुपर्ने हो नि’,पौडेलको भनाई थियो ।

उनले जिल्ला सभापतिहरुले दिएको सुझाव कार्यान्वयनका लागि आफू सक्रिय हुने बताए । ‘क्रियाशीलमा धाधली भएकै छ । हामीले सदस्यको सूची हेर्न पाएका छैनौं । आज एउटा सहमति गरेर भोली भोट हाल्न अर्कै मान्छे आए भने के गर्ने ? त्यसैले क्रियाशीलको नामावली हेर्न पाउनुपर्यो’, पौडेलको भनाई थियो । पौडेलले संवैधानिक संकटबाट पार्टीलाई जोगाउन सबै इमान्दार कार्यकर्ताले नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर