लुम्बिनीका विपक्षीलाई आफ्नै सांसदमाथि शंका, राजापानी रिसोर्टबाट बुद्ध गार्डेनमा सारियो – Nepal Press

लुम्बिनीका विपक्षीलाई आफ्नै सांसदमाथि शंका, राजापानी रिसोर्टबाट बुद्ध गार्डेनमा सारियो

रुपन्देही । सत्तारुढ दलबाट विभिन्न प्रलोभनमा दल परिवर्तनमा प्रभावित हुने डरले सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेनमा सारिएको छ ।

बेचिनसक्ने संभावित सांसदहरुलाई कडा निगरानीका साथ राखिएको सहभागी एक सांसदले बताए । राजापानीमा सबैजना एउटै होटलमा नअटेकाले अलग-अलग होटलमा राख्दा सूचना चुहिने डरमा लुम्बिनी बुद्ध गार्डेनमा ४१ सदस्यलाई सारिएको ती सांसदले जानकारी दिए । सांसदहरुलाई राखिएको होटलमा बाहिरी मान्छेलाई प्रवेश गर्न दिइएको छैन भने पत्रकारहरुलाई पनि निषेध गरिएको छ ।

एमाले नेतृत्वको सरकारविरुद्ध भोलि हुने विशेष अधिवेशनमा अविश्वासको प्रस्तावका विषयमा प्रकृया अगाडि बढ्नेछ । फ्लोर क्रस गर्ने शंकामा रहेका धेरैलाई सोमबार नै होटलमा राखिएको हो भने बाँकी मंगलबार पुगेका छन् ।

विपक्षी गठबन्धनका नेता एवं पूर्वमन्त्री सुदर्शन बरालले विशेष अधिवेशनका लागि तयारी गर्न र सांसदहरुलाई लुम्बिनी क्षेत्रमा भ्रमण गराउन लुम्बिनीमा राखिएको नेपाल प्रेसलाई बताए ।

‘गठबन्धनमा रहेका सबै सांसदहरु भोलिको तयारीका लागि बुद्ध गार्डेन होटलमा बसेका छौं- उनले भने ।’

बुधबारको अधिवेशनमा सत्ता पक्ष सहभागी नभए पनि प्रक्रियाबाट सरकारको छिनोफानो गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । प्रदेशसभा सदस्यसहित गठबन्धनका सबै नेताहरुले मंगलबार दिनभर छलफल गरेका छन् ।

सर्वोच्चबाट मंगलबार कुनै आदेश नभएकाले बुधबारको विशेष अधिवेशन बस्ने र कानुनअनुसार प्रक्रियामा गएर बुधबारै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने नेता खानले बताए ।

विपक्षी गठबन्धनले बुधबार नै सबै विषय संसदबाट टुंग्याउने तयारी गरेपनि सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अफ्ठेरोमा परेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले सर्वोच्चको आदेश कुरेको र कुनै फैसला नआएको अवस्थामा एमालेको संसदीय दलको निर्णयअनुसार नै अघि बढ्ने बताए ।

प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले सोमबार सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ मंगलबारका लागि तोकिएपनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुन सकेन ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बुधबार बिहान ८ बजे बस्ने जनाइएको छ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जसपाका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्तापक्षमा एमालेका ३८ जना मात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर