प्राधिकरण टुक्रयाउने विधेयक आएको भन्दै नागरिक उड्ययन कर्मचारी आन्दोलित (भिडियो) – Nepal Press

प्राधिकरण टुक्रयाउने विधेयक आएको भन्दै नागरिक उड्ययन कर्मचारी आन्दोलित (भिडियो)

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सोमबारदेखि शुरु गरिएको आन्दालनको कार्यक्रम बिहीबार सम्मका लागि सार्वजनिक गरिएको छ । कर्मचारीहरुले बुधबार सम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने र बिहिबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्राधिकरण टुंग्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समुह अनुकुल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुनैपनि हालतमा पास गर्न नदिनेगरी आन्दोलनका कार्यक्रम अगाडी बढाइएको लोकतान्त्रिक कर्मचारी संघको सदस्य सुजन भण्डारीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उदेश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था नीजिकरण गर्ने पाटोमा लगिएको बताए । प्राधिकरणको रक्षाका लागि आन्दोलन गरीएको उनले उल्लेख गरे ।

हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिदैँ राष्ट्रहित विपरितका विधेयक रोक्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले प्राधिकरणजस्तो नियामक निकायलाई जति कमजोर गरिन्छ उती यसको प्रभावमा मानिसहरुको जिउज्यानमा पर्ने भन्दै यसतर्फ सजग रहन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।

यता सरकारले आज (मंगलबार) प्रतिनिधि सभामा प्राधिकरण टुक्रयाउने गरी २ विधेयक दर्ता गरेको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा टेबल गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर