एनआरएन मध्यपूर्वको उपसंयोजकमा हमालको उम्मेदवारी, नेपाली विद्यालय खोल्नेदेखि श्रमिकको सुरक्षासम्मका एजेण्डा – Nepal Press

एनआरएन मध्यपूर्वको उपसंयोजकमा हमालको उम्मेदवारी, नेपाली विद्यालय खोल्नेदेखि श्रमिकको सुरक्षासम्मका एजेण्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा कृष्णबहादुर हमालले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएन आईसीसी सदस्य रहेका हमाल मध्यपूर्वको एनआरएन अभियानका अगुवा नेतासमेत हुन् ।

नेपालीहरूको रोजगार गन्तव्यसमेत रहेको मध्यपूर्वको एनआरएन निर्वाचनको विशेष महत्व हुने गरेको छ । एनआरएनको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आउन लाग्दा हमालले मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा गरी निर्वाचन अभियानसमेत सुरु गरेका छन् ।

१७ वर्षअघि नै एनआरएन कतारको संस्थापक सदस्यसमेत रहेका हमालले एनआरएनका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी कतारको प्रतिष्ठित कम्पनीमा व्यवस्थापकीय नेतृत्वमा छन् भने रोजगारदातासमेत हुन् ।

हमालले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको अल्पकालीन र दीर्घकालीन समस्या सम्बोधन गर्नका लागि मध्यपूर्वको नेतृत्वमा जान चाहेको बताएका छन् । हमालले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेण्डा अघि सारेका छन् ।

यस्ता छन्, हमालका एजेण्डा

(क) वैदेशिक रोजगारीमा कल्याणकारी कोषको वृद्धि साथै प्रभावकारी कार्यान्वयनका लागि दबाव र नीतिगत सुझावहरू प्रस्तुत गर्दै महत्वपूर्ण भूमिका निर्बाह गर्ने ।

(ख) वैदेशिक रोजगारीमा जानेहरूका लागि जीवन बीमा र सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र प्रभावकारी बनाउन आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने ।

(ग) श्रम स्वीकृति, अध्यागमन, भाषा प्रमाणीकरण र मेनपावरहरूमा देखिएको अनियमितता र झन्झटिलो प्रकृयाहरूमा परिणाममुखी र नीतिगत समन्वयकारी भूमिका खेल्ने ।

(घ) मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्सँग समन्वयकारी भूमिका खेल्ने, सम्बन्धित देशको नियम कानुन भित्र रही श्रमिकहरूका समस्याहरू समाधानका लागि विशेष भूमिका निर्बाह गर्ने ।

(ङ) मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद सँग समन्वय गरि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि भूमिका निर्वाहका साथै सम्भावना भएको देशमा नेपाली विद्यालय स्थापना गर्न सम्बन्धित देशमा रहेका नियोगसँग परामर्शको पहल गर्ने ।

हमालले मध्यपूर्वमा नेपालीहरूको उद्यमशीलता र व्यवसायीकरणको लागि पनि आफ्नो व्यवस्थापकीय अनुभव र क्षमताका आधारमा सहजीकरण गर्न केही एजेण्डा अघि सारेका छन् ।

ती यस्ता छन्

(क) समग्र डायसपोरा र मध्यपूर्वमा कार्यरत नेपालीहरुलाई केन्द्रविन्दुमा राखी व्यवसाय तथा उद्यमशिलताका लागि उतप्रेरित गर्ने र सहजकिरणको पहल गर्ने ।

(ख) गैर आवासीय नेपाली संघसँग समन्वय गरी विदेशमा स्वरोजगारीलाई मध्यनजर गर्दै व्यवासायीकरणमा समन्वयकारी भूमिका निर्बाह गर्ने ।

(ग) स्वदेश भित्र लगानीका लागि नेपाल सरकारका कानुनी प्रावधानसँगै प्राप्त अवसर र लगानी गर्न सुरक्षित क्षेत्रहरूका बारेमा जानकारीमूलक कार्यक्रमहरुको संयोजन गर्ने ।

(घ) निस्क्रिय रहेका मध्यपूर्वका राष्ट्रिय समन्वय परिषदहरूलाई सकृय बनाउने र उत्प्रेरणा जगाउन विशेष पहलकदमी गर्ने ।

हमालले आफ्नो उम्मेद्वारी घोषणा गर्दै नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्धनका लागि एनआरएनमार्फत् गर्न सकिने एजेण्डासमेत अघि सारेका छन् ।

कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्धन

(क) नेपाल र नेपालीको पहिचान विश्वमा चिनाउन कला र संस्कृतिलाई प्रवर्द्धन र सम्बर्द्धन गर्न बिबिध कार्यक्रमको आयोजना गरि समयानुकुल समन्वयकारी भूमिका निर्वाह गर्ने ।

(ख) नेपालको आर्थिक विकासका लागि मध्यपूर्वका राजदुताबास, आईसीसी र एनसीसीसँग समन्वय गरी पर्यटन क्षेत्रको विकासका लागि कर्म क्षेत्रका पर्यटकहरूलाई नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने र सोहि सम्बन्धमा विशेष कार्यक्रमको आयोजना गरि अन्तरक्रिया गर्ने ।

(ग) नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरूलाई मध्यपूर्वको बजारमा भित्र्याउन सम्बन्धित निकायसँग समन्वय र सहजिकरण गर्ने ।

(घ) विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न हौसला प्रदानका खातिर राजदुताबास, आईसीसी र एनसीसीसँग समन्वय गरी प्रोत्साहनमूलक कार्यक्रमहरुको आयोजना गर्ने ।

(ङ) नेपाली भाषा संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरि देश विकाशको निम्ति एनआरएनएको अन्तरभावलाई नियोग र नेपाल सरकारसँग नेपाली साँस्कृतिक केन्द्र सञ्चालन गर्न गराउन पहल गर्ने ।

उनले आफ्नो चुनावी एजेण्डामा मध्यपूर्वका सम्भावना भएका देशमा नेपाली विद्यालय खोल्न सम्बन्धित देशका नियोगहरूमार्फत् स्वीकृतिका लागि पहल गर्नेसमेत बताएका छन् ।

चार सूत्रीय प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका हमाललाई सहयोग गर्न मध्यमपूर्वका एनआरएन अभियन्ताहरू संगठित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर