काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप – Nepal Press

काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घर–घरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने ‘आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो ।

सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घर–घरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो ।

नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

आइसोलेसनमा बिरामीको चाप बढ्यो

पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा संक्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारीदिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *