लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’ – Nepal Press

लुम्बिनीका विपक्षी छैनन् ढुक्क, ४१ सांसदका लागि राजापानी रिसोर्ट ‘बुक’

रुपन्देही । सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको तयारी तथा त्यसपछि सरकारमा सहभागिताको भागवण्डा मिलाउन भन्दै लुम्बिनी प्रदेशका विपक्ष दलका नेताहरु कपिलवस्तुको राजापानी रिसोर्टमा पुगेका छन् ।

गठबन्धनले अविश्वासको प्रस्तावका पक्षमा रहेका ४१ जना सांसदहरुलाई यही रिसोर्टमा राख्ने तयारी गरेको स्रोतले बताएको छ । संसद खरिद विक्री हुने डरले गठबन्धनले यस्तो तयारी गरेको नाम नबताउने शर्तमा एक सांसदले बताए ।

विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावमाथि भोलि छलफल हुने भएकाले सांसदलाई प्रलोभनमा पार्ने डरले रिसोर्टमा लगिएको भए पनि सत्तापक्ष दल नेकपा एमाले भने विपक्षी गठबन्धनका कम्तीमा २ जना सांसद आफ्नो पक्षमा तान्न लागिपरेको बताइन्छ ।

यसअघि गण्डकी प्रदेशमा पनि यसैगरी दुई दिनअघिबाट संसदहरुलाई रिसोर्टमा लगेर राखिएको थियो ।

यो होटल माओवादी नेता नारायण महतको हो । उनी विभिन्न पार्टी परित्याग गरी अहिले माओवादीमा छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा गठबन्धनका नेताहरुसहित संसदहरु जम्मा भइरहेका छन् ।

एमाले नेतृत्वको सरकार नरहने भन्दै गठबन्धनले आफ्ना सांसद सुरक्षित राख्नका लागि यस्तो रणनीति तयार गरेको ती सांसदले बताए ।

सोमबार विहान बुटवलमा भएको अनौपचारिक बैठकमा ८/८ महिना माओवादी केन्द्र र कांग्रेसले आलोपालो मुख्यमन्त्री बन्ने गरी छलफल भइरहेको स्रोतले बतायो ।

गठबन्धनले माओवादी केन्द्रबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने यसअघि सहमति गरिसकेको छ । तर कांग्रेसबाट मुख्यमन्त्री हुने नाम प्रस्तावका लागि छलफल भइरहेको ती नेताले बताए ।

‘कांग्रेस सचेतक निर्मला शर्माले गठबन्धनका नेताहरु गए पनि आफू बुटवलमै भएको दावी गरिन् । जुटेर योजना बनाउनु ठूलो विषय भएन, तयारी त गर्नुपर्‍यो नि !,’ उनले नेपाल प्रेससँग भनिन् । माओवादी संसदीय दलका उपनेता सुदर्शन बरालले छलफलका लागि केही साथीहरु जुट्ने तायरी गरेको बताए ।

गठबन्धनमा हराउने सांसद

गठबन्धनमा रहेकी जसपा सांसद पुर्मती ढेंगामगर केही हप्ताअघि सम्पर्कविहीन भएपछि सो पार्टीले सरकारले लुकाएको आरोप लगाएको थियो । दुई दिनपछि उनी आफ्नै घरमै भेटिएको र पार्टी सम्पर्कमा रहेको सो पार्टीका नेताले बताएका थिए ।

एमालेबाट तीन महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी सांसद विमला वली साउन १५ गते दांगबाट ४ दिन सम्पर्कविहीन भएपछि एमालेमा रहेको विज्ञप्ती आएको र अर्को दिन पुनः माओवादीमा रहेको पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन् ।

उनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर राखेको आरोप सांसद वलीले लगाएपनि एमालेले त्यसको खण्डन गरेको थियो ।

सर्वोच्चले जसपाका ३ सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि सरकार स्पष्ट अल्पमतमा परिसकेको छ ।

यता विशेष अधिबेशनको मिति नजिकिदै गर्दा सत्ताधारी दल नेकपा एमाले भने विभिन्न बाहनामा संसदसँग भाग्न खोजिरहेको छ । सत्तापक्षका सांसद लिला गिरीले लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशन विरुद्ध रिट दायर गरिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर