कांग्रेसमा विशेष महाधिवेशनको ‘च्याप्टर क्लोज’ – Nepal Press

कांग्रेसमा विशेष महाधिवेशनको ‘च्याप्टर क्लोज’

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्चामा रहेको विशेष महाधिवेशनको च्याप्टर क्लोज भएको छ । भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन कांग्रेसभित्र विशेष महाधिवेशन प्रस्ताव गरिएको थियो ।

सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको विशेष महाधिवेशनको प्रस्तापबाट संस्थापनइतर समूह पनि पछि हटेको छ । सोमबार महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले विशेष महाधिवेशन नभई ‘फास्ट ट्र्याक’बाट महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

बैठकपछि प्रतिक्रिया दिदै वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता टुंगिनासाथ प्रक्रिया छोट्याएर १४ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको बताए । उनले संस्थापन पक्षले महाधिवेशन गर्न चाहे छोटो प्रक्रियाबाट केहीदिनमै पार्टीको वैधानिकता जोगाउन सकिने बताए । ‘अझैपनि १-२ दिनमा क्रियाशीलको समस्या समाधान गरौ । समाधान भएन भने जहाँको हुँदैन त्यहाँको थाती राखेर पुरानै सदस्यता कायम राखेर महाधिवेशनमा जाऔं । संविधान निर्माण गर्दा पनि प्रक्रिया छोट्याएका थियौं, केही प्रक्रिया छोट्याएर अहिले पार्टीलाई असंवैधानिक हुनबाट जोगाऔं’, पौडेलको भनाई छ ।

पौडेल पक्षका नेता अर्जुनरसिंह केसीले विशेष महाधिवेशनका लागि जोड दिदै आएका थिए । यद्यपि पौडेल पक्षकै केही नेता र संस्थापन पक्ष यसमा पूर्ण सहमत हुन सकेनन् । केसीले क्रियाशील सदस्यता विवादकै कारण पार्टीको महाधिवेशन रोकिन नहुने भन्दै वैधानिकता जोगाउन १३ औं महाधिवेशका प्रतिनिधिबाटै थोरै अवधीका लागि निर्वाचन गराउन प्रस्ताव गरेका थिए । पौडेल पक्षको सोमबारको बैठकले नियमित महाधिवेशन बाहेक अन्य विकल्पबारे सोच्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो । ‘इमान्दार हुने हो भने संवैधानिक सीमाभित्र महाधिवेशन गर्न सकिन्छ । हामीले विकल्पको कुरा गर्ने होइन, महाधिवेशन भएन भने विकल्प देखाउने काम सभापतिको हो । विकल्प होइन प्रक्रिया छोट्याएर पनि विधिवत महाधिवेशन हुनुपर्छ’, केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने । उनले महाधिवेशनका विभिन्न विकल्पबारे बैठकमा छलफल भएपनि महाधिवेशन गर्नेबाहेकको विकल्पमा नजान सबै सहमत रहेको बताए ।

म्याद थप्न सकिन्न : पौडेल

वरिष्ठ नेता पौडेलले यसअघि नै भदौ २३ पछि सभापति देउवासहित पार्टी संरचना अवैध हुने बताइसकेका थिए । आजको बैठकमा पनि पौडेलले संविधानभन्दा बाहिर गएर सोच्ने छुट नभएको बताए । ‘संविधानले भनेको बेला महाधिवेशन नगर्ने अनि म्याद थप्ने कुरा स्वीकार्य छैन’, पौडेलले पत्रकारसंग भने । बैठकमा पौडेलले संवैधानिक सीमा र संकटबारे आफूले धेरैसंग परामर्श गर्दा उपयुक्त विकल्प नभेटेको बताएका थिए । पौडेलले विशेष महाधिवेशनको सम्भावना नरहेको भन्दै विधिवत महाधिवेशनको विकल्प नभएको बताए ।

विशेष महाधिवेशनको प्रस्ताव संस्थापन पक्षले भने यसअघि नै अस्वीकार गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर