संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन – Nepal Press

संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘खोपमा अनियमितता भएको कुरा विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको अवस्थामा सोको छानवीन गरी दोषी प्रमाणित भएमा कानूनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’

समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्वतयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । सभापति जैैरुले संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो लहर आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको बताइन् ।

बैठकमा समिति सदस्यहरुले नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए । समिति सदस्य एवम् काँग्रेस सांसद राधेश्याम अधिकारीले सबै नागरिकलाई खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘कोभिड खोप लगाउने जनशक्तिको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्दछु । ’

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको जानकारी गराए । कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजी गरिरहेको उनले समितिलाई जानकारी गराए । सरकारले आगामी चैत महीनाभित्र भित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने योजना सार्वजनिक गरेको छ । तर त्यस अनुसारको कामलाई भने अघि बढाउन नसकेको समितिको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर