तस्बिरमा हेर्नुस् एक वर्षपछि अस्थायी आवास पाएका लिदी पहिरोपीडितको खुसी – Nepal Press

तस्बिरमा हेर्नुस् एक वर्षपछि अस्थायी आवास पाएका लिदी पहिरोपीडितको खुसी

पीडितहरु भन्छन् –७२ लाखमै बन्यो आवास,अब आफ्नै जग्गामा बस्ने धोको

सिन्धुपाल्चोक । एक वर्षअघि जुगल गाउँपालिका–२ लिदी पहिरोमा श्रीमानसहित परिवारका सात जना गुमाएकी ७१ वर्षीया निसमाई तामाङ पहिरोले घरखेत सबै लगेपछि सेलाङस्थित बासखर्कको वनको जग्गामा एक वर्षदेखि पालमुनी बस्दै आएकी छन् ।

श्रीमानसहित परिवारका सात जना गुमाएकी वृद्धा निसमाई अहिले मानसिक समस्यामा छिन् । तामाङ भाषाबाहेक अरु उनले बुझदिनन् । जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले तामाङ भाषमा नै सोधे– अहिले तपाँइलाई कस्तो छ? जवाफमा निसमाईले भनिन् ठिकै छ ।

विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले उपलब्ध गराएको चाइनिज टेण्टमा एक हिउँद र वर्षा कष्टसँग कटाएकी ७२ वर्षीया वृद्धा तामाङले आइतबारदेखि जस्ताले बनाएको दुई कोठे अस्थाई आवास पाएकी छन् ।

आफ्नै अस्थाई आवासमा गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठसहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग उनकै भाषामा एक वर्षपछि भएपनि जस्ताको आवस पाउँदा खुसी लागेको बताइन् ।

२०७७ साउन ३० को लिदी पहिरोमा ससुरासहित आफन्त गुमाएर सेलाङको बासखर्कमा बस्दै आएकी लालमाई बोम्जोनले पनि दुई कोठे जस्तापाता प्रयोग गरेर निर्माण गरिएको अस्थाई घर पाएपछि खुसी थिइन् । ‘पालमुनी एक वर्ष त निकै गाह्रो भयो बस्नलाई, ढिला नै भएपनि हामीले जस्ताले बनाएको घर पाएका छौ खुसी छु’ बोम्जनले भनिन् ।

एक वर्षअघि जुगल गाउँपालिका–२ लिदी पहिरोमा आफन्त गुमाएको पीडा त छदैछ त्यसमाथि आफ्नो थातथलो छाडेर विरानो ठाउँमा आएर बस्दा लिदीबासी कम्ती समस्यामा थिएनन् ।

आफ्नो घर ,जग्गा सबै गुमाएपछि एक वर्षदेखि वन क्षेत्रको जग्गामा पालमुनी बसेका लिदी पहिरो पीडितहरुले पहिरोको एक वर्षपछि भएपनि जस्तापाताले निर्माण गरेको अस्थाई बास पाउँदा पहिरोको पीडा भुल्न खोज्दै थिए । ‘हामीले एक वर्षपछि भएपनि अस्थाई घर पाएका छौ,अब हामीलाई आफ्नै स्वमित्वको जग्गामा स्थाई घर भए हुने थियो’ स्थानीय साङलामो दोङले भनिन् ।

यसरी बन्यो अस्थाई आवास

लिदी पहिरो पीडितहरु एक हिउँद र वर्षा बाँसखर्कको सामुदायिक वनको जंगल क्षेत्रमा पालमुनी बस्दै आएका थिए । अहिले परिवार त्यहाँ बसिरहेका छन् ।

हिउँदमा आएको हावाहुरीले धेरै पीडितहरुको टेण्ट उडाएपछि नेपाली सेनाले गएर पुन टेण्ट राखिदिएको थियो । गत वर्ष नै विपदग्रस्त क्षेत्र घोषणा गरेर स्थाई आवस निर्माणका लागि भुकम्पपीडितहरुलाई जस्तै अनुदान दिने घोषणा गरेपनि सरकारी प्रक्रियाका कारण ढिलाई भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पहिरो पीडितहरुलाई टेण्टमा बस्न समस्या भएपछि जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले गाउँपालिका र अन्य सहयोग संघ संस्था र व्यक्तिहरुसँग सहकार्य गरेर अस्थाई आवस निर्माण गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

विपद व्यवस्थापन समितिले निर्णयपछि गाउँपालिकाले अस्थाई बास निर्माणका लागि आवश्यक पर्ने सामग्री खरिद गरेर ल्याउनका लागि फास्ट ट्रयाक बाट टेण्डर निकालेको थियो । खरिद नियामवली अनुसार कोही पनि फर्महरुले टेण्डर प्रक्रियामा सहभागी हुन नआएपछि आवास निर्माणमा ढिलो भएको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताए ।

अस्थाई आवस निर्माणका लागि आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराउने र आवश्यक जनशक्ति नेपाली सेनाले उपलब्ध गराउने सहमतिपछि असार १६ देखि अस्थाई आवस निर्माण सुरु भएको थियो । नेपाली सेना पुर्वी कमाण्ड अन्र्तगत रहेको नं २६ बाहिनी अड्डा मातहातमा रहेको गोरखबक्स गण चौतारा र कालीसिद्धी गण बार्दिबासका सेनाहरु निर्माणकार्यमा खटिएका थिए ।

एक महिनाको अवधीमा नेपाली सेनाले ३१ अस्थाई आवास,एक सामुदायिक स्वास्थ्य इकाई,दुई स्नानगृह,एक क्यान्टिन र सात वटा शौचालाय निर्माण सम्पन्न गरेको थियो ।

अस्थाई अवास निर्माणका लागि क्रिकेट खेलाडी सन्दिप लामिछाने,जनहित ग्रामीण सेवा समिति,पत्रकार महासंघ,सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लगायतका संघ संस्थाहरुले समेत सहयोग गरेको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

७२ लाखमा ३१ आवास सहित अन्य संरचना निर्माण

लिदी पहिरो पीडितहरुलाई तत्कालका लागि पालबाट जस्ताको टहरोमा अस्थाई आवसमा ल्याउनका लागि ७२ लाख खर्च भएको छ । जनशक्ति बाहेक ३१ आवास सहितको संरचना निर्माणकार्यमा ७२ लाख २८ हजार ७सय ५३ रुपियाँ खर्च भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए ।

५८ लाख जुगल गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष र २० लाख अन्य सहयोगी संघ संस्थाहरुबाट प्राप्त भएको नेपालले जानकारी दिए । आवस निर्माणमा नेपाली सेनाको तर्फबाट दैनिक ५४ जना जनशिक्त परिचालन भएको र एक महिनासम्म सेनाको तर्फबाट १६ सय ७४ दक्षजनशक्ति परिचालन भएको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

सैनिक नगरिक बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि जनतासँग् अझै सहकार्य गर्न आफुहरु तयार रहेको सेनानी श्रेष्ठले जानकारी दिए ।

 

सेना हाम्रो लागि भगवान नै भए–पीडितहरु

लिदीमा पहिरो गएदेखि नै उद्धार र राहातमा खटिएका नेपाली सेना गोरखबक्स गणका नेपाली सेनाले पीडितहरुलाई अस्थाई बासस्थानमा राखेर त्यहाँबाट फर्किएका छन् । गोरबक्स गणका कमाण्ड सम्हालिरहेका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले आफुहरु एक वर्षदेखि नियमित रुपमा पीडितहरुको साथमा रहेको बताए ।

‘नेपाली सेनाले हामीलाई अस्थाई घर भित्र राखेका छन्,हाम्रो लागि उहाँहरु भगवान नै हुनु भयो’ अस्थाई आवस निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पीडित निमाछिरीङ दोङले भने,‘पहिरो गएदेखि आजसम्म उहाँहरुको साथ पाएका छौ,अब स्थाई घर पनि उहाँहरुले नै बनाइदिए हुने थियो ।’

नेपाली सेनाले जनताको साथ नेपाली सेना बासखर्क आवस परियोजना अन्र्तगत अस्थाई आवस निर्माणकार्यमा सहयोग गरेको सेनाको नं २६ बहिनी अड्डाका बहिनीपति सहायक रथि विष्णुकुमार राउतले जानकारी दिए । ‘नेपाली सेनाले गरेको योगदानको पैसामा रुपान्तरण गर्न नै सकिदैन’ गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले भने,‘उहाँहरुले अगुवाई नगरेको भए अहिले पनि पीडितहरु पालमुनी नै हुने थिए ।’

बासखर्कपछि अब घुम्थाङमा आवास निर्माण गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा अब गत वर्ष पहिरो गएको घुम्थाङको नागपुजे र भोटेकोशी गाउँपालिकाको विभिन्न बस्तीमा यस्तै प्रकृतिको आवस निर्माण गरिने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

‘हामीले बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिका सँग सल्लाह गरिरहेका छौ अब त्यस क्षेत्रका पीडितहरुलाई पनि अस्थाई आवसमा ल्याउने योजना छ’ पोखरेलले भने ।

 

अन्यत्र निर्माण हुने आवसमा पनि नेपाली सेनाले सहयोग गर्ने नेपाली सेना २६ नं बाहिनीका बाहिनीपति विष्णु राउतले जानकारी दिए । नेपाली सेना सधै जनताको साथमा छ,जनतालाई सहयोग गर्नका लागि हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौ बाहिनीपति राउतले भने ।

स्थायी आवस पुननिर्माण सम्झौता सुरु

पहिरोको एक वर्षपछि लिदी पहिरो पीडितहरुका लागि विपद व्यवस्थापन प्राधिकरणले तोकेको मापदण्ड अनुसार स्थानीय आवास निर्माणका लागि बुधबार देखि सम्झौता सुरु गरिने भएको छ । ‘जग्गा व्यवस्थापन भएको छैन तर आवस निर्माणको सम्झौता अब सुरु हुन्छ ’गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले भने ।

लिदी पहिरो पीडितहरुले अहिले बसिरहेको बासखर्कमा नै आफुहरु बस्न चाहेकाले त्यहीको जग्गा मिलाइदिन आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरोलले भने आफुहरुले धेरै प्रयन्त गरे पनि वनको जग्गा व्यक्तिको नाममा ल्याउन नसकिएको बताए । बाँसखर्कमा अहिले लिदी पहिरोमा घर पुर्ण रुपमा क्षती भएका ३१ परिवारका लागि यो अस्थाई आवास पाएका छन् ।

त्यसैगरी घर नभत्केपनि उच्च जोखिममा रहेका अन्य २ सय ८ परिवार भने अहिले पनि बाँसखर्कमा पालमा नै बसिरहेका छन् । लिदी पहिरोमा ३९ को मृत्यु,२९ घर पुर्ण क्षति भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर