सञ्जाल चर्चा र यथार्थ : देउवाले राष्ट्रपतिको फोटो हटाउन लगाएका हुन् ? – Nepal Press

सञ्जाल चर्चा र यथार्थ : देउवाले राष्ट्रपतिको फोटो हटाउन लगाएका हुन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको केमेस्ट्री नमिलेको विषयले चर्चा पायो । देउवाको नियुक्तिबारे राष्ट्रपतिले जारी गरेको विज्ञप्तिबाट उत्पन्न विवाददेखि सपथ ग्रहण समारोहमा राष्ट्रपतिले देउवालाई औपचारिक बधाई नदिएको विषयहरू बाहिर आए ।

यही पृष्ठभूमिमा एक-दुई दिनयता सामाजिक सञ्जालमा नयाँ चर्चा शुरू भएको छ । राष्ट्रपतिसँग असन्तुष्ट प्रधानमन्त्री देउवाले आफ्नो कार्यालयमा उनको तस्वीर हटाएर नेपालको निशान छाप राख्न लगाए भन्ने । पृष्ठभूमिमा निशान छाप देखिएको देउवाको तस्वीर पनि भाइरल भइरहेको छ ।

यसलाई कतिले सकारात्मक र कतिले नकारात्मक ढंगले अर्थ्याइरहेका छन् । एकथरिले व्यक्तिभन्दा देशको राष्ट्रिय चिन्हलाई महत्व दिएको भनेर देउवाको प्रशंसा गरेका छन् । अर्काथरिले चाहिँ राजनीतिक पूर्वाग्रह राखेर राष्ट्रपति संस्थाको अनादर गरेको भनेर आलोचना पनि गरेका छन् ।

तर, यथार्थ चाहिँ सामाजिक सञ्जालमा आएकोजस्तो छैन । न देउवाले राष्ट्रपतिको फोटो हटाउन लगाएका हुन्, न तस्वीरमा देखिएको निशान छाप उनले राख्न लगाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारियो । हालै पुरानो भवनको पुननिर्माण सकिएपछि अहिले फेरि प्रधानमन्त्रीको कार्यालय त्यसमा सरेको छ ।

प्रधानमन्त्री कार्यालयका एक सहसचिवका अनुसार पुनर्निर्मित कार्यालयमा ४१३ नम्बरको एउटा ठूलो हल छ । त्यो हलको पछाडिपट्टि भित्तामा नेपालको निशान छाप राखिएको छ । यो राखिएको गत फागुनमा हो, जतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीले पनि यो निशान छापको पृष्ठभूमिमा तस्वीर खिचाएका छन् ।

प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव तथा सचिव बस्ने सबै कक्षमा अहिले पनि राष्ट्रपति र प्रधानमन्त्रीकै फोटो झुण्डिएको छ । यद्यपि, यसरी व्यक्तिको तस्वीर झुण्ड्याएर व्यक्तिपूजालाई प्रश्रय दिनु नहुने मान्यता धेरैको छ ।

प्रधानमन्त्री देउवालाई भेट् गर्दै श्रीलंकाली राजदूत हिमाली अरुणातिलका ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर