किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु – Nepal Press

किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

सन २०१७ को फेब्रुअरी अन्तिम साता म दिल्लीमा थिएँ । दिल्लीमा भएको दक्षिण एसियाली साहित्य उत्सवमा सहभागी हुन त्यहाँ पुगेको थिएँ । फेब्रअरी २४, २५ र २६ मा भएको कार्यक्रमको उद्घाटन इन्डिया इन्टरनेसनल सेन्टरमा भएको थियो ।

नेपाल र भारतका केही सहर मात्रै घुमेको मेरो पहिलोपटक दक्षिण एसियाका पाकिस्तान बाहेकका सबै देशका नागरिकसँग भेट हुँदै थियो । रोचक कुरा, धेरैले मलाइ ‘अफगानी’ भएको लख काटे । अफगानीबाहेक भारत, बंगलादेश, श्रीलंकादेखि भुटानसम्मका कवि-साहित्यकारले ‘तपाईं अफगानिस्तानबाट हो ?’ भनेर पटक-पटक सोधिरहे । मलाइ रोचक अनुभव भइरह्यो ।

नेपाल बाहेकका सबै देशका प्रतिनिधिसँग आ-आफ्नो तरिकाले व्याक्तिगत कुराकानी भयो । अनुभव आदानप्रदान भयो । मलाइ धेरै चासो भने भुटानी टीमसँग थियो । चार जनाको थियो भुटानी प्रतिनिधिमन्डल । तीन जना भुटानको अन्य भाषा बोल्ने । एक जना नेपाली भाषा बोल्ने । अचम्म चाहिँ नेपाली मातृभाषा हुने कविले खासै बोल्न चाहेनन् । औपचारिकता मात्रै निभाए । तर, अन्य भुटानी कवि साहित्यकार भने खुलेर बोले । बोल्ने क्रममा धेरै निकट भयौं कवि छादोर वाङमो र म ।

मलाइ लाग्थ्यो, भुटानमा नेपाली भाषा, नेपालीभाषी समुदायले मात्रै बोल्छन् र बुझ्छन् । तर होइन रहेछ । छादोर वाङमोलाई नि फरर नेपाली आउँदोरहेछ । नेपाली आउने मात्रै हैन नेपाली चलचित्रहरु बाल्यकालमै हेरेकी रैछिन् उनले । सन् १९९० को दशकमा शरणार्थी समस्या हुनुभन्दा अगाडि भुटानमा नेपाली चलचित्र मज्जाले चल्थे । त्यही पुस्ताकी सदस्य हुन् वाङ्मो । उनको फेबरेट हिरो राजेश हमाल । कतिपय चलचित्रका डाइलगसमेत उनलाइ याद रहेछ ।

शरणार्थी समस्या सुरु भएपछि भुटानमा नेपालमा बनेका फिल्म चल्न छोडे । नेपाल–भुटान नागरिक स्तरको सम्बन्धमा तनाव आयो । कुटनीतिक र सामाजिक समस्या बढ्यो । एक हिसाबले भन्ने हो भने सामाजिक सम्पर्कसुत्रमा पूर्णबिराम लाग्यो । करिब दुई दशकपछि इन्टरनेटले गाउँगाउँमा पहुँच पुर्याउन थाल्यो । इन्टरनेट पुगेसँगै युट्युबबाट नेपाली गीत, फिल्म र संगीत पुनः भुटानका घरघरमा पुग्न थाले ।

हामीले कुराकानी गर्दा वाङ्मा भन्दै थिइन्, भुटानमा धेरै युवायुवतीहरुलाई आस्था राउतको ‘चौबन्दीमा पटुकी..’ गीत कन्ठै छ । वाङमोले यस्तो भन्दा लाग्यो-राजनीतिले बिगारेको सम्बन्ध इन्टरनेटले सुधार्यो ।

भुटान त शरणार्थि समस्याले गाँजिएर सम्वन्ध बिग्रेको देशको कुरा भयो । भारत, म्यानमारदेखि थाइल्यान्ड लगायतका नेपालीभाषी स्थानिय नागरिकहरुलाई इन्टरनेटले जोडेको छ । केही हप्ता अगाडि विद्या चापागाईंको ‘हेर्ने कथा’ को ‘भादाको कथा’ मा भारतको आसामका यु्वा नकुल शर्माले भावुक कमेन्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘आसाममा नि आउनुस न दिदी । हामी नि आसाममा ५० लाख नेपाली छौँ ।’ यस्तै आफुलाई भारतीय गोर्खाली भन्ने पवन राईले पनि सोही भिडियोमा कमेन्ट गर्दै तारिफ गरेका छन् । अर्थात विद्याको ‘हेर्ने कथा’ नेपालीहरुको मात्रै कथा रहेनछ । यो त नेपाली भाषी विभिन्न देशका नागरिकको पनि रोजाइ रहेछ ।

केही समय अगाडि एपिवानको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रममा बंगलादेशका नेपालीभाषी ‘मनोजबहादुर गोर्खा’ को कथा आयो । त्यो कथाले बंगलादेशमा समेत नेपालीभाषी रहेको देखिन्छ । थाइल्यान्डमा नेपाली भाषा सिक्दा भावुक भएका युवतीहरुको कथा थाइ नेपाली असोसिएसनको नाममा युट्युबमा अपलोड भएका तीज कार्यक्रमले देखाउँछ । म्यानमारका नेपाली गाउँका कथाहरु धेरैले जानिसकेका छौँ । म्यानमारका नेपालीभाषीका विभिन्न गीतहरु युटय्बुमा हेर्न सकिन्छ ।

किरण गजमेर र नेपाली भाषाको कार्यक्रमको फैलावट

भुटानी कवि छादोर वाङमो, भारतीय नेपालीभाषी नागरिक नकुल शर्मा अनि पवन राई, बंगलादेशका नेपालीभाषी मनोजबहादुर गोर्खा हुँदै थाइल्यान्डका नेपालीहरुको उदाहरणले नेपाली भाषाको सामथ्र्य देखाउँछ । म्यानमारका गाउँगाउँमा भएका नेपाली बस्ती र नेपाली संस्कृतिले नेपालीपन देखाउँछ ।

तर, यो नेपालीपन भनेको नेपाली नागरिकता, चुच्चे नक्सा र नेपाल देशको भूगोलको कुरा हैन । नेपाली भाषाले जोडेको आत्मियताको कुरा हो । त्यही कुराको भावको गीत ग्रान्ड फिनालेमा गाएरै किरण गजमेर बिजयी भए । उनले गाएका थिए, ‘जसो गर जे भन जता सुकै लैजाउ मलाइ । यो मन त मेरो नेपाली हो…।’

किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

शनिबार मध्यरातमा द भ्वाइस अफ नेपालको बिजेता बनेका किरण गजमेरको जित लाख बढी नेपालीभाषी भुटानी शरणार्थीको गौरव हो । संसारभर छरिएर रहेका नेपालीभाषीको खुशी हो । नेपाली रियालिटी शोहरुलाई दशगजा पारी लैजान चाहनेहरुको जित हो । वैश्विक नेपाली मनको सान्त्वना हो ।

सन् १९९३ मा भुटानबाट लखेटिएर किरणका हजुरबुबादेखि बुबाहरु नेपाल आए । झापाको खुदुनाबारी शिविरमा बस्दाबस्दै किरण २०५४ सालमा जन्मे । सन् २०११ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका उडे । भोइस अफ नेपालकै लागी भनेर उनी आठ महिनादेखि नेपालमा छन् ।

आफ्ना सहयोगीसँगै उनी नेपाल आएर आठ महिना बस्नु, भोटिङ गर्नु र नेपाल-अमेरिका हवाई यात्रा गर्नु, भ्वाइस अफ नेपालको २५ लाख पुरस्कार भन्दा कयौँ महँगो छ । अझ आठ महिना नेपाल बसेका किरण र अरु सहयोगीले अमेरिकामा काम गरेर कमाउने पैशा त कहाँ हो कहाँ धेरै हुन्थ्यो । नेपाली गीत-संगीतको मायाले नेपाली रियालिटी शोको लागि उनीहरुले त्याग गरे । त्यो त्यागभित्रै नेपालीपनको सुगन्ध छ ।

किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

रियालिटी शो, नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावर

२०७७ मंसिर २१ गते नेपालको पहिलो लिखित परराष्ट्र नीति सार्वजनिक भयो । नीतिले पब्लिक डिप्लोमेसीदेखि सफ्टपावरसम्मको कुरा गरेको छ । पब्लिक डिप्लोमेसी र सफ्ट पावरमा रियालिटी शोहरु पनि एक गज्जब माध्यम बन्ने देखिएको छ ।

भ्वाइसअफ नेपालदेखि अहिले चलिरहेको कमेडी च्याम्पियनसम्ममा नेपाल बाहिरका नेपाली भाषीहरुको आकर्षण देखिन्छ । आगामी दिनमा आउने अरु विश्वस्तरीय रियालिटी शोहरुमा यो सिलसिला दोहोरिनेछ । यसलाई नेपाल सरकारले पब्लिक डिप्लोमेसी र सफ्टपावर प्रबद्र्धन गर्न सदुपयोग गर्न सक्छ ।

नेपाली कार्यक्रमहरुमा नेपालीभाषी सहभागी गराउने प्रक्रियामा सरकारले सहयोग गर्न सक्छ । जस्तै भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड लगायत देशमा पुस्तौँदेखि बसेका नेपालीभाषी सहभागीहरु कार्यक्रममा आए उनीहरुको हवाइ टिकट र भिजा शुल्कमा सरकारले सहुलियत दिन सक्छ । भारत र नेपाल खुल्ला सिमाना र सस्तो यातायात भएकोले भारतबाट आउने आफैं सहजै आउन सक्छन । भारत बाहेकका क्षेत्रबाट आउनेहरुलाई सरकारले हौसला दिनसक्छ ।

सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।

भाषा र संस्कृतिको विकासको नाममा कोठे बैठकहरुमा लाखौँ सक्नुभन्दा यस्ता कार्यक्रमको प्रभावकारिता र क्षेत्रफल ठुलो हुन्छ । नेपाली भाषाको मात्रै हैन भविष्यमा नेपालका अन्य भाषाहरु मैथिली, भोजपुरी लागायतका कार्यक्रम हुँदा पनि सरकारले यसैगरी सहयोग गर्न सक्छ ।

रियालिटि शोहरुले डिजिटल अडिसन मात्रै हैन, फिजिकल अडिसन सम्भव भएसम्म नेपाल बाहिरका विभिन्न देशहरुमा गर्दा अझ राम्रो हुन्छ । छनौट गर्दा पनि टप १० मा नेपाल बाहिरका सहभागीलाई कोटा छुट्याउन पनि सकिन्छ । यसले त्यी देशका नेपालीभाषीलाई आकर्षित गर्न सकिन्छ । युट्युब स्ट्रिमिङमार्फत जहाँबाट पनि हेर्न सकिने भएकोले सहज छ ।

आज हलिउडदेखि मिस वर्ल्ड हुँदै मिस युनिभर्ससम्मले विभिन्न बजारमा पुग्न त्यहाँका सहभागीलाई ल्याएको देखिन्छ । नेपाली रियालिटी शोहरुले त्यही सुत्र प्रयोगमा ल्याउन सक्छन् । सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।


प्रतिक्रिया

One thought on “किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

  1. यो लेखले नेपालीत्वको फराकिलो क्षितिजको आव्हान गरेको छ र भाशाको माध्यमबाट विश्व भुगोलमा नेपाली समाजको एकता सम्भव बनाएको छ । उत्कृष्ट लेखप्रती मेरो नमन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *