प्रधानमन्त्रीलाई सांसद पौड्यालको आग्रह- संविधानले नचिन्ने संयन्त्रबाट हातखुट्टा बाँधिएर नबस्नुहोस् – Nepal Press
राष्ट्रियसभा बैठक

प्रधानमन्त्रीलाई सांसद पौड्यालको आग्रह- संविधानले नचिन्ने संयन्त्रबाट हातखुट्टा बाँधिएर नबस्नुहोस्

काठमाडौं । राष्ट्रियसभाकी सदस्य डा. विमला राई पौड्यालले राजनीतिक संयन्त्र गठनको हल्ला चलिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसको बन्धक नबन्न आग्रह गरेकी छन् ।

‘केही दिनदेखि एउटा हल्ला चलेको छ, त्यो हल्लामा कति सत्यता छ थाहा छैन,’ उनको भनाइ छ, ‘तर, हल्ला के छ भने गठबन्धनले फर्मल रूपमा संघमा, प्रदेशमा र स्थानीय तहमा राजनीतिक संयन्त्र बनाउँदै छ । समानान्तररूपमा चलाउने संयन्त्र बनाउँदै छ र यसले प्रधानमन्त्रीलाई निर्देशित गर्छ ।’

राजनीतिक संयन्त्रलाई संविधान र संसदीय व्यवस्थाले समेत नचिन्ने तर्क गर्दै पौड्यालले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई म आग्रह गर्न चाहान्छु- हात खुट्टा बाँधिएर नबस्नुहोस् । प्रधानमन्त्रीलाई संसदले जे जिम्मेवारी दिएको त्यो गर्ने हो र जवाफदेहिता संसदप्रति हो गठबन्धनको कुनै नाममा बनेको संयन्त्रमा हुन सक्दैन । यो संयन्त्रलाई संविधानले चिन्दैन, संसदीय व्यवस्थाले चिन्दैन ।’

राजनीतिक संयन्त्रकै कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै पौड्यालले यो निर्लज्जता भएको टिप्पणी गरिन् । ‘प्रधानमन्त्री छान्ने संसदले अनि हातखुट्टा बाँधेर सबै संयन्त्रले चलाउने सरकार ?,’ उनको भनाइ छ, ‘यो संसदीय पद्धति कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ । हामी सबैले दुःख पाउँछौं । हामी यसमा क्लियर हौं-प्रधानमन्त्रीले सरकार चलाउने हो संयन्त्रले होइन । संयन्त्रले हातखुट्टा बाँधेर एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु भनेको निर्लज्ता पनि हो, दुःखद पनि हो ।’

यसअघिको सरकारलाई पनि यही राजनीतिक संयन्त्रले अप्ठ्यारो अवस्थामा पुर्याएको उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर