कम्युनिष्टको भोट लिई कांग्रेसलाई साथ दिनेहरु लाल गद्दार हुन : प्रभु साह – Nepal Press

कम्युनिष्टको भोट लिई कांग्रेसलाई साथ दिनेहरु लाल गद्दार हुन : प्रभु साह

काठमाडौँ। पूर्वमन्त्री प्रभु साहले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई साथ दिनेहरु लाल गद्दार रहेको टिप्पणी गरेका छन् । शनिबार बाराको कलैयामा आयोजित आईटी आर्मीको बारा जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री साहले माधव नेपालप्रति लक्षित गर्दै उनलाई कम्युनिष्ट आन्दोलनको कालो दागको रुपमा चित्रण गरे ।

आफ्नो पार्टीको सरकारको विरुद्ध हस्ताक्षर गरेर प्रतिक्रियावादी पार्टीको प्रधानमन्त्री बनाउने काम सामान्य कम्युनिष्ट विचार राख्नेले पनि गर्न नसक्ने जीकिर गर्दै पूर्वमन्त्री साहले त्यस्ता कार्यमा संलग्न सबै लाल गद्दार रहेको बताए । वर्षौदेखि मुलुकलाई बर्बाद पार्ने कांग्रेसलाई साथ दिनेहरु कम्युनिष्ट हुन नसक्ने बरु खोज्नैपरे कम्युनिष्टको विकल्प कम्युनिष्ट मात्र हुन सक्ने उनको ठहर छ । तर माधव नेपाल र प्रचण्ड देउवाको शरणमा गएर कम्युनिष्ट विचारलाई समेत अपमानित गरेको उनको भनाई छ ।

‘लामो समयसम्म शासन गरेर देशलाई अविकास, पछौटेपन, गरिबी, बेरोजगारीको भुमरीमा राखेर अस्थिरता मच्चाउने कांग्रेसबाट आजित जनताले उन्मुक्ति पाउने आशाका साथ कम्युनिष्टहरुलाई बहुमत दिए । देशमा कम्युनिष्टप्रति विश्वास राख्ने जनताको भोट लिएर आज केही कथित कम्युनिष्टहरु कांग्रेसलाई साथ दिदै हिड्दैछन् । वास्तविक अर्थमा उनीहरु लाल गद्दार हुन्, कम्युनिष्ट आन्दोलनको एउटा कालो धब्बा हो ।’

पूर्वमन्त्री साहले भने, आज हेर्न सक्नुहुन्छ कम्युनिष्ट सर्वहाराहरुको भोट लिएर देउवालाई प्रधानमन्त्री बनाएका यीनै लाल गद्दारहरुले गरिब भुमिहिन सुकुम्बासीले जग्गा पाउनै लागेको बेला भुमि आयोग खारेज गराए । गाउँ गाउँमा सत्ताधारी पार्टीको आतंक सुरु भइसक्यो, विधिको शासनको खुलेआम हत्या हुँदैछ । र यी लाल गद्दारहरुले देशलाई पुर्णत अस्थिरतामा धकेलिसकेछन् ।

कलैयास्थित कर्णराज प्यालेसमा सम्पन्न भेलाबाट प्रदिप साहको संयोजकत्वमा आईटी आर्मीको बारा जिल्ला कमिटी गठन भएको छ । कार्यक्रममा संविधानसभा सदस्य ईस्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेताहरु उमेश कुश्वाहा, धुरी साह, पवन तिवारी, अमिताभ बच्चन दास, आइटी आर्मी पर्साका संयोजक सन्तोष पटेल, रौतहटका संयोजक नरेश साह लगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर