एमालेका संगठनात्मक गतिविधि नरोकिने, महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला – Nepal Press

एमालेका संगठनात्मक गतिविधि नरोकिने, महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला

शेरबहादुर तामाङ भन्छन्– अर्को अध्यक्ष सम्भव छैन, माधव नेपाल स्थायी कमिटी सदस्य हुनुहुन्छ

काठमाडौं । नेकपा एमालेले संगठनात्मक गतिविधिहरु र पार्टीका विधान तथा स्थानीय तहका अधिवेशनहरुको काम नरोक्ने भएको छ । माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले अधिवेशन, सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधिहरु रोक्न आग्रह गरेलगत्तै पार्टीको तर्फबाट यस्तो जवाफ आएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव तथा वागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले पार्टी निष्क्रिय भएर बस्न नसक्ने भन्दै संगठनात्मक क्रियाकलाप र सदस्यता नवीकरण जस्ता कुरा नरोकिने बताए ।

नेपाल प्रेससँग कुरा गर्दै तामाङले भने– संगठनात्मक गतिविधि रोक्ने भनेको पार्टी भंग गर्ने वा निष्क्रिय बनाउने हो ? एमाले जस्तो पार्टी निष्क्रिय रहन सक्दैन, पार्टीका सबै कमिटी र गतिविधिहरु निरन्तर क्रियाशील हुन्छन् । उहाँहरु जुन दिन पार्टीमा फर्किनुहन्छ त्यहीं दिनबाट पूर्ववत जिम्मेवारी हुन्छ ।

तामाङले १० बुँदे सहमति नै पार्टी एकताको आधार भन्ने कुरा माधव नेपालले समेत मानिसकेपछि अब एकताका लागि अन्य शर्त स्वीकार्य नहुने बताए । पार्टीले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हैसियतमा सबैले काम गर्नुपर्ने बताए ।

उनले भने–१० बुँदे सहमति उहाँहरुले पनि अनुमोदन गर्नुभएछ । अब पार्टीमा फर्केर नवौं राष्ट्रिय महाधिवेशनबाट जो जुन पदमा निर्वाचित भएको हो त्यहीं जिम्मेवारीमा फर्किन कसैले रोकेको छैन । जस्तो कि, नवौं महाधिवेशनबाट झलनाथ खनाल वरिष्ठ नेता हो, माधव नेपाल पार्टी नेता हो । स्थायी कमिटी सदस्यका रुपमा उहाँ क्रियाशील हुनुपर्छ ।

पार्टी विधानले नचिन्ने दोस्रो अध्यक्ष वा बराबरी हस्ताक्षरसहितको पावर शेयरिङ भन्ने कुरा असान्दर्भिक भइसकेको तामाङले बताए । उनले पार्टीका निर्धारित अधिवेशनहरु नरोकिने र आइतबारको केन्द्रीयक कमिटी बैठकले विधान अधिवेशनमा प्रस्तुत गरिने प्रस्तावलाई अनुमोदन गर्ने बताए ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गरेको छ । विधान महाधिवेशनले पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नेछ । त्यसका लागि शुक्रबार प्रस्तावमाथि अनौपचारिक छलफल भएको थियो ।

असोज ९ गतेभित्र एमालेले सबै स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने भएको छ ।


प्रतिक्रिया

One thought on “एमालेका संगठनात्मक गतिविधि नरोकिने, महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर