पाकिस्तानमा मन्दिरमाथि आक्रमण र तोडफोड, भारतीय विदेश मन्त्रालयद्वारा निन्दा – Nepal Press

पाकिस्तानमा मन्दिरमाथि आक्रमण र तोडफोड, भारतीय विदेश मन्त्रालयद्वारा निन्दा

काठमाडौं । पाकिस्तानमा कट्टरपन्थीले पंजाबको भोग सहरस्थित हिन्दू मन्दिरमाथि आक्रमण गरेका छन् । दिनदहाडै गणेश मन्दिरमा आक्रमण भएको सामाजिक संजालमा सार्वजनिक भएका भिडियोहरुमा देख्न सकिन्छ ।

मन्दिर तोडफोडमा उत्रिएपछि स्थितीलाई नियन्त्रण गर्नको लागि प्रहरी तैनाथ गरिएको छ । बीबीसी हिन्दीका अनुसार सो इलाकामा बसोबास गर्ने हिन्दू परिवारहरु विस्थापित हुन थालेका छन् ।

बिहीबार राती धार्मिक नेताहरुसँगको पत्रकार सम्मेलनमा पाकिस्तान प्रहरीले केही मानिसहरुले शान्तिलाई भंग गर्ने प्रयास गरेको आरोप लगाएको जनाएको छ ।

प्रहरीले मन्दिर तोडफोडमा संलग्न हुने र उनीहरुलाई उक्साउने सबैलाई कार्वाही गर्ने जनाएको छ । प्रहरीले आफूकहाँ तीनवटा उजुरी आएको र छानविन भैरहेको जनाएको छ ।

सांसद तथा मानवअधिकार संसदीय सचिव लाल मलहीले ट्वीटरमार्फत घटना भएको भोग सहरका हिन्दू परिवारहरु विस्थापित भएको र सुरक्षित ठाउँमा बसाइ सरेको उल्लेख गरेका छन् । उनले हिन्दूहरुको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।

बीबीसी हिन्दीसँग कुरा गर्दै केही हिन्दू परिवारले मन्दिरमा तोडफोडको घटना भैरहँदा आफूहरु डरले घरमै बसेको बताएका छन् । भिडिओहरुमा मन्दिरमा लाठी, ढुंगा र इटाले तोडफोड भएको देख्न सकिन्छ ।

यस घटनामाथि शुक्रबार पाकिस्तानको अदालतमा सुनुवाई हुँदैछ । घटनाको तरंग भारतसम्म फैलिएको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा रहेका हिन्दू अल्पसंख्यकको सुरक्षाको सुनिश्चतता गर्न माग गरेको छ । मन्त्रालयले पाकिस्तानी उच्चायोगका अधिकारीलाई बोलाएर घटनाबारे चिन्ता व्यक्त गरेको छ ।

लगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि प्रतिक्रिया दिएका छन् । घटनाको निन्दा गर्दै पाकिस्तानी प्रधानमन्त्रीले तोडफोड भएको मन्दिरलाई सरकारको मर्मत गर्ने बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर