जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो – Nepal Press

जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो

जनकपुरधाम । निर्वाचन आयोगबाट आधिकारिकता नपाएका महन्थ ठाकुरपक्षले जनता समाजवादी पार्टी (जसपा) कै ब्यानरमा विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

ठाकुर पक्षले सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा शुक्रबार कार्यकर्ता भेला तय गरेको हो । कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरिया आज जनकपुरधाम आएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले पार्टीको आधिकारिकता विषयमा सर्वोच्चमा मुद्दा चलिरहेकाले तत्काल नयाँ पार्टी नखोल्ने प्रष्ट्याए । उनले भने, ‘अहिले पार्टी टुटेको छैन । मधेसको मुद्दालाई झट्का लागेको छ ।’

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएलगत्तै यादवले उनीसहितका नेतालाई कारवाही गरेका थिए । तर, ठाकुरले आफू अहिले पनि अध्यक्ष रहेको दावी गरेका छन् । घुमाउरो भाषामा उनले भने, ‘निर्वाचन आयोगले नै दुई पोष्ट स्वीकारेको छ ।’

अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई स्वागत गर्न एयरपोर्टमा नेता/कार्यकर्तामा भीड लागेको थियो । उनीहरूले ठाकुर र अरगरियाको समर्थनमा नाराबाजीसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर