इच्छाराजमाथि सीआईबीले थाल्यो अनुसन्धान, सिभिल सहकारीको ८ अर्बभन्दा बढी घाेटाला गरेकाे आराेप – Nepal Press

इच्छाराजमाथि सीआईबीले थाल्यो अनुसन्धान, सिभिल सहकारीको ८ अर्बभन्दा बढी घाेटाला गरेकाे आराेप

काठमाडौं । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको छ । सिभिल सहकारीबाट तामाङले ८ अर्बभन्दा बढी हिनामिना गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन् ।

सीआईबीका प्रवक्ता श्यामकुमार महतोले सिभिल सहकारीमा पैसा हिनामिना भएको भनेर धेरै उजुरी आएको बताए ।

उनले भने, ‘पहिलेदेखि नै धेरै पीडितहरू हाम्रो सम्पर्कमा आउनु भएको थियो । हिजोमात्रै पनि एउटा समूह सीआईबीमा आएका थिए । उनीहरूले सबै पीडितको तथ्यांकसहित आउने बताएका छन् । सबै पीडितहरू प्रमाण लिएर आएपछि हामी अनुसन्धान थाल्नेछौं यो विषय धेरै पहिले देखिको विषय हो ।’

सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

तामाङ सिभिल सहकारी र रियलस्टेट कम्पनी ’सिभिल होम्स’ संस्थापक हुन् । एउटा व्यक्ति २ वटा कम्पनीमा अवद्ध भएर एउटा कम्पनीको मालिक र अर्को कम्पनीको ऋणी बनेर सहकारीको रकम घोटाला गरेको भनेर उजुरी परेको छ ।

आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएका थिए । आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भनेर समेत उजुरी परेको छ ।

कुल पुँजीको १० प्रतिशतभन्दा धेरै कर्जा एकै व्यक्तिलाई दिन नमिल्ने सहकारी ऐनको प्रावधानविपरीत तामाङले मनमर्जी तरिकारले आफ्नो व्यवसायमा लगानी गरेका थिए ।

आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रूपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालिलगायतका आफ्नै ग्रुपका कम्पनीलाई ७ अर्ब ४३ करोड लगानी गरेको थियो ।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।


प्रतिक्रिया

One thought on “इच्छाराजमाथि सीआईबीले थाल्यो अनुसन्धान, सिभिल सहकारीको ८ अर्बभन्दा बढी घाेटाला गरेकाे आराेप

  1. सरकारकाे सबै सम्भन्धित निकायमा,बागमती प्रदेशको ” भुमी कृषि तथा सहकारी मन्त्रालय का,रजिस्ट्रार ,सचिब र मन्त्री सम्म लाई यस ठगिकाे बारे जानकारी भेैयकै २ बर्ष बडि भेै सक्यो,कारबाहि वहाँहरु गर्नु पर्ने अथवा गराउनु पर्ने होइन र?पीडित जनता लाई राहत दिलाउनु सरकारकाे दाइत्यो होइन?अनुमतिपत्र दिएर सहकारी खोल्न लगाउने अनि संचालक हरुले ठगि गरे आँखामा पट्टि अनि कानमा तेल हालेर बस्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *