नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति, भन्यो- पार्टीको नामबाट बोलाइएको बैठक अनधिकृत – Nepal Press

नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति, भन्यो- पार्टीको नामबाट बोलाइएको बैठक अनधिकृत

काठमाडौं। नेकपा (एमाले)ले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ।

कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ।

‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’

एमाले मिलनतर्फ गएको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता नेपालबीच भेटघाटको तयारी भइरहेको भनिएको बेला एउटा पक्षले समूहको बैठक बोलायो भने अर्कोले त्यसको प्रतिवाद गरेको छ।

केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आज बोलाइएको बैठकलाई नेपाल पक्षले भोलिसम्मलाई स्थगित गरेको छ।

पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेता नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

स्थायी कमिटीमा पटक-पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच नेपालले बनाएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमै मतभेद छ ।

विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ ।

आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर