कांग्रेसमा ‘मिनी पार्टी’ अभ्यास- नेताका खल्तीमै पार्टी, विधानले नचिन्ने नियुक्तिमा नेतृत्वको साथ – Nepal Press

कांग्रेसमा ‘मिनी पार्टी’ अभ्यास- नेताका खल्तीमै पार्टी, विधानले नचिन्ने नियुक्तिमा नेतृत्वको साथ

काठमाडौं । नेपाली कांग्रेसभित्र गुटको कुरा पुरानो भइसक्यो । अब त कांग्रेसमा ‘मिनी पार्टी’ को बिगबगी छ । विधान र राजनीतिक मान्यताविपरीत कांग्रेसका केन्द्रीय नेताहरूले खल्तीमा पार्टी बोकेर हिड्ने प्रवृत्ति मौलाउँदो छ । त्यसलाई प्रश्रय दिनेमा उपसभापति विमलेन्द्र निधि, सह-महामन्त्री डा. प्रकाशशरण महतदेखि प्रवक्ता विश्वप्रकाश शर्मासम्म छन् ।

संविधानले तोकेको समयसीमामा महाधिवेशन गर्न नसके पनि कांग्रेसका विभिन्न प्रतिष्ठान, समिति र विभागमा नियुक्ति र मनोनयनको क्रम रोकिएको छैन । सामाजिक सञ्जालमा पछिल्लो २ वर्षयता कांग्रेसका विभिन्न नियुक्तिको पत्र प्रदर्शन र बधाईको क्रम जारी छ । पार्टीको विधानविपरीतमात्रै नभइ राजनीतिक ‘नैतिकता’ को दृष्टिले पनि गलत ठहर्ने ‘मिनी पार्टी’ अभ्यासबारे कांग्रेसवृत्तमा तीव्र असन्तुष्टी भए पनि नेतृत्वले नै त्यसलाई प्रश्रय दिँदै आइरहेको छ ।

कांग्रेसमा उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रहेको छ । २०७७ साल फागुन १ गतेको मितिमा प्रतिष्ठानको विभिन्न समितिमा विज्ञका रूपमा नियुक्त भएकाहरुको पत्र अहिलेसम्म सार्वजनिक हुने क्रम जारी छ ।

गत वर्ष कोभिड १९ का कारण जनजीवन प्रभावित भएपछि कांग्रेसले सह-महामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा समिति बनायो । महत नेतृत्वको कोभिड-१९ केन्द्रीय अनुगमन समितिमा केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू तथा विज्ञ सदस्यहरू छन् । समितिले जिल्लास्तरबाट कोभिडबारे पार्टीको संयन्त्रबाट सूचना नलिइ अलग संरचना बनायो । विभिन्न जिल्लामा समितिका संयोजक तोकिए ।

कांग्रेस विधानको दफा ३७ को ‘ज’ मा ‘विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने’ उल्लेख छ । विधानले विशेषज्ञताको खोजी गरे पनि विभागको नियुक्ति र मनोनयनमा ‘विश्वासिलो कार्यकर्ता’ र ‘गुटको हर्ताकर्ता’ लाई प्राथमिकता दिइएको छ ।

कांग्रेस केन्द्रीय समितिले नै सांसद बिनोद चौधरीको संयोजकत्वमा लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिसमेत बनाएको छ । समितिमा व्यापारी पृष्ठभूमि भएका देशभरका कांग्रेस नेता कार्यकर्ता जोडिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागको पहिलो बैठकले प्रेस युनियनका अध्यक्षलाई विभागको सदस्यमा मनोनित गरेको थियो । कांग्रेस विधानको दफा ३७ १ को (ग) मा विभागको सदस्य पार्टी सभापतिले मात्रै मनोनीत गर्ने व्यवस्था भए पनि उल्लघंन गरिएको हो ।

कांग्रेसकै तरुण विभागको मनोनयनको क्रम रोकिएको छैन । केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको विभागले देशभित्र मात्रै होइन विदेशमा पनि विभागको शाखा खोलिसकेको छ । विभिन्न देशमा विभागका शाखा संयोजक तोकिएका छन् । तरुण दलको केन्द्रीय समितिले पूर्णता नपाए पनि विभागका केन्द्रीय सदस्य, शाखा संयोजक, प्रदेश संयोजक, प्रदेश सदस्य र विभागको पनि विभागीय प्रमुखहरू देशैभरी छरिएका छन् ।

विधानभन्दा माथि नेता

कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था छ । विधानमा २८ वटामात्रै विभागको व्यवस्था छ । तर, विधानविपरीत कांग्रेस केन्द्रीय समितिको बैठकले २०७६ पुसमा विभागको संख्या ४७ पुर्‍यायो । महाधिवेशनबाट अनुमोदन गर्ने भनिए पनि कांग्रेस महाधिवेशन हुनसकेको छैन । संस्थापनइत्तर समूहले विभागहरूको गठन विधानविपरीत रहेको भन्दै बहिष्‍कार गर्दै आएको छ । गठन भएका सबै विभागमा सभापति देउवानिकट नेता कार्यकर्ताहरूमात्रै सक्रिय छन् ।

कांग्रेस विधानको दफा ३७ को ‘ज’ मा ‘विभागको कार्यक्षेत्र हेरी विशेषज्ञ संलग्न गराई विभिन्न एकाइ, उपसमिति वा कार्यदल गठन गर्न सकिने’ उल्लेख छ । विधानले विशेषज्ञताको खोजी गरे पनि विभागको नियुक्ति र मनोनयनमा ‘विश्वासिलो कार्यकर्ता’ र ‘गुटको हर्ताकर्ता’ लाई प्राथमिकता दिइएको छ ।

कांग्रेसको संगठनमा महत्वपूर्ण अर्थ राख्ने क्रियाशील सदस्यताको विवाद हेर्न छुट्टै समिति बनाइएको छ । पार्टीका गतिविधि केन्द्र, जिल्ला र सम्बन्धित कार्यसमितिबाट सञ्चालित हुने गर्छन् । कांग्रेसको प्रदेश समितिहरू बनिसकेका छैनन् । तर, सबैजसो विभागले प्रदेश, जिल्ला र कतिपयले क्षेत्रसम्मै विभाग विस्तार गरेका छन् ।

कुनै क्षेत्राधिकार नभए पनि गोपालमान श्रेष्ठ नेतृत्वको संगठन विभागले प्रदेश प्रमुखहरू चयन गरेको छ । विभागका नाममा भइरहेको मनपरी संस्थापन पक्षकै कतिपय नेतालाई मन परेको छैन ।

‘विभागले काम गरेर पार्टी सभापतिलाई सहयोग होला भनेको विभागका प्रमुखहरु आफै पार्टी सभापति भएझै चिठी बाँडेर हिँडेका छन् । विभागका प्रमुखहरूको मनपरी रोक्न सभापति नै अग्रसर हुनुपर्छ’, देउवानिकट एक नेताले भने ।

कांग्रेसको विधानमा विभागले प्रत्येक छ महिनामा कार्यसम्पादन प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने उल्लेख छ । तर, कांग्रेसको केन्द्रीय समितिमा अहिलेसम्म कुनै विभागको प्रतिवेदन पुगेको छैन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेल केही विभागले मात्रै प्रतिवेदन बुझाएको बताउँछन् ।

‘केही विभागले प्रतिवेदन दिएका छन् तर कस-कसले दिएका छन् हेरेर मात्रै भन्न सक्छु’, पौडेलले नेपाल प्रेससँग भने । उनले विभागका गतिविधिबारे उठेका प्रश्नबारे पार्टी सभापतिले नै उचित निर्देशन दिने बताए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे विभाग र समितिका नाममा पार्टीभित्र ‘हास्यास्पद अराजकता’ चलेको टिप्पणी गर्छन् । पार्टीको विधान र पद्दति विपरीतका गतिविधीलाई पार्टी नेतृत्वले चासो नदिनु गलत भएको घिमिरेले बताए ।

‘यो संगठनात्मक अराजकता हो । पार्टीको ठूलो पंक्तिले बहिस्कार गरेको तथाकथित विभागका प्रमुखले गरेको मनपरी हास्यास्पद मात्रै होइन पार्टीविरोधी छ । यस्तो प्रवृत्तिलाई नेतृत्वले नै मलजल गरेकोले कार्यकर्ताले प्रतिवाद गर्नुको विकल्प छैन’, घिमिरेले नेपाल प्रेससँग भने ।

विगतमा नेविसंघमा ‘चिठी काण्ड’ देखिने गरेको भन्दै घिमिरेले पार्टीमा त्यही प्रवृत्ति देखिनु ‘तल्लोस्तरको गतिविधि’ रहेको उनले बताए ।

विभागीय नेतृत्वमा रहेका अधिकांश कांग्रेस नेताहरू विधानविपरीत पद सिर्जना गर्ने र पत्र बाँड्ने प्रचलनले कांग्रेसमा इमान्दार कार्यकर्तालाई ‘टिक्न गाह्राे’ बनाएको बताउँछन् । ‘दिने र लिने दुवैले पदका लागि मरिहत्ते गरेका छन् । हुँदै नभएको पदको पत्र प्रदर्शनमा रमाउनेले पार्टीलाई फाइदा गर्दैनन्’, कांग्रेसका एक पुराना नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर