मोहन्यालबासीको पीडा: वडा कार्यालय पुग्न दुई दिन, अर्काे प्रदेश पुग्न ३० मिनेट – Nepal Press

मोहन्यालबासीको पीडा: वडा कार्यालय पुग्न दुई दिन, अर्काे प्रदेश पुग्न ३० मिनेट

जोखिमपूर्ण डुंगाबाट यात्रा गर्न स्थानीय बाध्य, चार दिनमा पाँच बेपत्ता

कैलाली । घर नजिकै खोप लगाउने व्यवस्था भएको भए आइतबार धनसरा सलामीमगरको अकालमा प्राण जाने थिएन ।

आफ्नै वडा कार्यालय वा स्वास्थ्य कार्यालय पुग्न दुई दिन लाग्दैन थियो भने, २४ दिनका कर्ण सलामी मगर कर्णाली नदीमा बग्ने थिएनन् ।

सरकारले कर्णाली नदीमा पुल बनाइदिएको भए प्रेम सलामीमगरले विवाह भएको एक वर्षमै पत्नि गुमाउनु पर्ने थिए ।

मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट गर्भवती महिला तथा शिशुलाई खोप लगाउन सुर्खेतको चौकुने गाउँपालिका–४ बिरौरा जान पर्ने थिएन भने तीन जना बेपत्ता हुने थिएनन् ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा सुगम जिल्ला हो, कैलाली । कैलाली भित्रै रहेको मोहन्याल गाउँपालिका जनतालाई भने वर्षाै पहिलेदेखि आफ्नै वडा कार्यालय पुग्न भन्दा अर्काे प्रदेश पुग्न सहज लाग्छ ।

‘हामीलाई हाम्रै वडा कार्यालय भन्दा नजिक अर्काे प्रदेशको राजधानी लाग्छ’ स्थानीय नरबहादुर सलामीले भने ‘त्यहीं समस्याले हामी कर्णालीको भेल तर्न बाध्य छौँ ।’

मोहन्याल वडा नम्बर ३ को वडा कार्यालय फल्लेबिसौनीमा छ । त्यहाँ पुग्न महिला तथा बालबालिकाहरुलाई दुई दिन लाग्छ । वयस्कहरु बिहानै हिँडेर राति पुग्छन् । आफ्नै वडा कार्यालय पुग्न दुई दिन लाग्ने भएपछि सुत्केरी, गर्भवती तथा शिशुहरुलाई खोपको लागि समेत सुर्खेत लैजानुपर्ने बाध्यता छ ।

सुर्खेत पुग्न स्थानीयलाई सहज हुने स्थानमा पुल छैन । पुल भएको स्थानमा पुगेर नदी पार गर्न करिब तीन घण्टा लाग्छ । सुर्खेत पुगेर छिटो फर्किनु पर्ने बाध्यताका कारण काठको असुरक्षित डुंगाको मद्धतबाट कर्णाली पार गर्ने गरेको स्थानीय बताउँछन् ।

‘हामीलाई हाम्रो वडा पुग्न सहज हुने व्यवस्था गरेको भए हामीलाई अर्काे प्रदेश जानुपर्ने बाध्यता हुँदैन थियो’ स्थानीय पदमबहादुर भुलले भने ‘हामीलाई हाम्रै वडा कार्यालय पुग्न सकस छ ।’

रांगा मलेखा, चावा र ताम्चाका नागरिकहरु सामान्य कामको लागि पनि कर्णाली नदी पार गरेर सुर्खेत जाने गरेको मोहन्याल स्वास्थ्य चौकी प्रमुख जयानन्द जैशीले बताए ।

रांगा मलेखामा करिब ९७ परिवार छन् । त्यस्तै ताम्चा र चावा पनि त्यतिकै घरधुरी छन् ।

सुत्केरी तथा गर्भवती महिला मात्रै होइनन्, बालबालिकहरु पनि नियमित रुपमा सुर्खेतको चौकुने गाउँपालिका–४ बिरौरामा रहेको जगन्नाथ माध्यामिक बिद्यालयमा पढ्न जाने गरेका छन् ।

रांगा मलेखामा कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय छ । कक्षा पाँचभन्दा बढी पढ्नु परे वडा नम्बर ६ मा रहेको सोल्टा पुग्नु पर्छ । तर, त्यो भन्दा नजिक कर्णाली प्रदेशमा विद्यालय छन् ।

दैनिक ४० जनासम्म विद्यार्थी कर्णालीको भेल तरेर विद्यालय जाने गरेको भुलले सुनाए ।

उनी भन्छन्, ‘अहिले विद्यालय बन्द छन्, त्यसैले केही सुरक्षित भएको जस्तो लाग्छ । नत्र ज्यानलाई हत्केलामा राखेर वारपार गर्नुपर्ने बाध्यता थियो ।’

यसअघि पनि पटक–पटक डुंगा पल्टिने गरेको स्थानीय बताउँछन् ।

चार दिनमा पाँच बेपत्ता

पछिल्लो चार दिनयता कर्णाली नदीमा ५ जना बेपत्ता भएका छन् । शुक्रबार कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन् ।

एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडकखण्डबाट कर्णाली नदीमा खसेको थियो । जीपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए ।

यस्तै आइतबार थप तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उर्मिला सलामी मगर र उनको १० दिनकी छोरी प्राप्ती बेपत्ता छिन् । गर्भवती पार्वती थापा मगरको पनि अहिलेसम्म अवस्था अज्ञात छ । डुंगा पल्टिएर धनसरा सलामीमगरको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर