सवारी चालक लाइसेन्सको ट्रायल साउन अन्त्यदेखि खुल्ने – Nepal Press

सवारी चालक लाइसेन्सको ट्रायल साउन अन्त्यदेखि खुल्ने

काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल साउन अन्त्यदेखि खुल्ने भएको छ । मातहतका कार्यालयसँगको छलफलपछि ट्रायल खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, ‘निषेधाज्ञा पूर्ण रुपमा नखुलेको हुँदा ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले बताएका थिए । हामी साउन अन्तिम साता सूचना निकाल्छौं, त्यसका लागि तयारी भइरहेको छ ।’

करिब ५ लाख मानिसले अनलाईन आवेदन दिएर ट्रायल परिक्षाको प्रतिक्षामा रहेका छन् । विभागले कोटा प्रणाली हटाएर अनलाइन आवेदन ‘अनलिमिटेड’ बनाएको छ । ट्रायल परिक्षा खुले पछि अनलाईन आवेदन पनि खुलाउने विभागले जनाएको छ ।

त्यस्तै ट्रायल परीक्षा संचालनका लागि समेत कोटा हट्ने भएको छ। कार्यालयहरुले जति सक्छन्, त्यही अनुसार संचालन गर्न सकिने भएको छ । अबको ट्रायल परिक्षामा नयाँ व्यवस्था लागू हुने उनले बताए । अहिले लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था छ। उक्त प्रणालीलाइ सहज बनाउदै ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागु हुनेछ।

सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग–अलग अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने ट्रायल पास हुनेछन्।

निषेधाज्ञा खुकुलो भएर यातायात कार्यालयहरुले पुनः सेवा सुरु गरेको भए पनि तीन महिनादेखि बन्द रहेको ट्रायल खुलेको छैन ।


प्रतिक्रिया

One thought on “सवारी चालक लाइसेन्सको ट्रायल साउन अन्त्यदेखि खुल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर