कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल – Nepal Press

कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।

‘कोरोना नियन्त्रण चुनौतीपूर्ण भएपनि सबैको समन्वयमा काम गर्‍यौं भने असम्भव छैन । कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर योजनाबद्ध ढंगले काम गरौ’, गृहमन्त्री खाणले भने ।

उनले होल्डिङ सेन्टर निर्माणको काम सन्तोषजनक नरहेको भन्दै थप प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । कोरोनाको तेस्रो लहर आउनुअघि नै कोरोनाविरुद्धका संरचना तयार गर्नुपर्नेमा खाणको जोड थियो ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै सरकारी अस्पतालमा अक्सीजन व्यवस्थापन गर्न तथा कोरोनाविरुद्ध सय दिने विशेष योजना कार्यान्वयन गरिने बताए । सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई खोप दिएर होल्डिङ सेन्टरमा राखिने भन्दै राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र ३२ लाख डोज खोप आउने बताए ।

‘हामीले ४० लाख फाइजर खोप किन्न आवश्यक प्रबन्ध गरेका छौं । त्यसमध्ये १६ लाख चीन र १६ लाख डोज जापानबाट यही हप्ता आउनेछ’, श्रेष्ठले भने ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले स्वास्थ्य मापदण्ड कार्यान्वयनका लागि सक्रियता बढाइएको जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *