स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु) – Nepal Press

स्मार्ट लकडाउनबारे तीनै सीडीओ छलफलमा, हाइटेक पुस्ता नै मान्दैन मास्क र दूरी (तस्वीरहरु)

काठमाडौं । भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)लाई स्मार्ट लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य क्षेत्र हेर्ने तालुक मन्त्रालयबाटै यस्तो सुझाव आएपछि प्रधानमन्त्री अध्यक्ष रहेको सीसीएमसीले संक्रमणको जोखिमको आधारमा मुलुकलाई वर्गीकृत गरेर स्मार्ट लकडाउन गर्नेबारे छलफल थालेको छ ।

पछिल्लो साता काठमाडौं लगायत मुलुकको दैनिक संक्रमणदर २४ प्रतिशतभन्दा माथि छ । मृत्युदर र संक्रमण उकालो लागेको छ भने, सक्रिय संक्रमित संख्या पनि ४० हजारभन्दा माथि पुगेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा खुकुलो बनाएसँगै बजार, कार्यालय र पसलमा चहलपहल बढेको छ । मानिसहरु मास्क र सामाजिक दूरी बिनै भीडभाड गरिरहेको देख्न सकिन्छ । मुख्य बजारमा मानिसहरुको भीड देखिएपनि प्रशासनले भने अनुगमन गर्न सकेको छैन ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । संक्रमण दरमा वृद्धि भएपनि र स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेपनि निषेधाज्ञा लागू गर्ने अधिकार पाएका प्रमुख जिल्ला अधिकारीहरु भने मास्क र सामाजिक दूरीको अनुगमनलाई कडा तुल्याउँदै साविककै आदेशलाई कायम राखी निषेधाज्ञा थप गर्ने तयारीमा छन् ।

नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संक्रमण वृद्धि भएको परिस्थितीबारे समीक्षा गर्दै केही दिनको संक्रमण दर हेरेर अघि बढ्ने तयारीमा रहेको बताए । सीसीएमसीको शुक्रबारको बैठकमा काठमाडौं सीडीओ पराजुली पनि सहभागि थिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सीसीएमसीमा सिफारिस भएको स्मार्ट लकडाउनबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा पनि छलफल हुने बताए । ‘संक्रमण बढेको छ र उपत्यकाका हामी तीनैजना सीडीओको बैठक बसेर स्मार्ट लकडाउनको अवधारणाबारे छलफल चलाउँछौं’ निरौलाले नेपाल प्रेसलाई भने ।

आगामी साता काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठक बस्ने तयारी छ । शनिबार काठमाडौं उपत्यकामा ७७५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । कतिपय जिल्लामा निषेधाज्ञामा कडाइ हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *