महामारीले मोडिएको सेलेव्रिटी कर्म : दीपकको फार्महाउसदेखि साम्राज्ञीको अनलाइन बिजनेससम्म – Nepal Press

महामारीले मोडिएको सेलेव्रिटी कर्म : दीपकको फार्महाउसदेखि साम्राज्ञीको अनलाइन बिजनेससम्म

काठमाडौं । कोरोनाभाइरस महामारीले डेढवर्षदेखि मनोरञ्जन क्षेत्र पूर्णतया ठप्प छ । अब कहिलेदेखि फिल्म, नाटक, संगीत र फेसनका गतिविधि सामान्य अवस्थामा फर्किन्छन् भन्ने प्रश्नको जवाफ कसैसँग छैन । गतवर्ष चैत ११ गते पहिलोे लकडाउन भएयता फिल्म क्षेत्र १० महीना ठप्प रह्यो । कोरोनाको दोस्रो लहर रोकथामका लागि जारी निषेधाज्ञा अहिले पनि जारी छ र फिल्म क्षेत्र अहिले पनि लकडाउनमै छ ।

सरकारले दशैं आसपासबाट भाइरसको तेस्रो लहर आउने प्रक्षेपण गरेसँगै परिस्थितीलाई झनै अन्यौल बनाइदिएको छ । महामारीले सबैभन्दा बढी प्रभावित फिल्म र संगीत क्षेत्र अहिले सबैभन्दा प्रभावित छ । देशभरका ७२ हजार फिल्मका सिटहरु रित्तो भएको मात्र हैन, यस क्षेत्रमा आश्रित हजारौंको भविष्य समेत चौपट बनेको छ । कतिपय सँधैका लागि पलायन भएका छन् भने कुनैबेलाका सुपरस्टारहरुले अहिले वैकल्पिक पेशा व्यवसाय सुरु गरेका छन् ।

नेपाल चलचित्र संघका अनुसार ३० प्रतिशत फिल्म हल सँधैका लागि बन्द भएका छन् । नेपाली फिल्म परिवर्तनको साक्षी बनेका कुमारी र जयनेपाल फिल्म हल सँधैका लागि बन्द भए । अन्य धेरै हल बन्द हुने क्रममा छन् । कोरोनाको पहिलो लहरले धक्का दिएको फिल्म क्षेत्रलाई दोस्रो लहरले उठ्नै नसक्ने गरी सुताइदियो । तेस्रो लहरले अझै बढी फिल्म तथा संगीतकर्मी पेशाबाट पलायन हुने जोखिम रहेको जानकार बताउँछन् ।

केही यस्ता कलाकार छन् जो महामारीअघि निकै हिट रहे । उनीहरुका प्रत्येक फिल्म करोड क्लबमा प्रवेश मात्र गरेनन्, बक्सअफिसमा पैसा छाप्ने नामहरु थिए । महामारीको कारण अहिले नाम चलेका कलाकार पनि वैकल्पिक पेशातर्फ सोझिएका छन् ।

कतिपय कलाकार वैकल्पिक व्यवसायमा लागेका छन् भने कतिपय प्राविधिक सँधैका लागि पलायन भएका छन् । महामारीले स्वदेशमा भविष्य नदेखेपछि विदेश पलायन हुने सेलेव्रिटीको सूची पनि लामै छ । अधिकांश कलाकार आर्थिक कठिनाइ र मानसिक समस्यासँग संघर्ष गरिरहेका छन् । स्वभावैले लार्जर द्यान लाइफ चरित्र अँगाल्ने कलाकारको जीवन हातमुख जोर्ने कुरामै संघर्ष गरिरहेको स्थिती हो अहिले ।

महामारीले कलाकारलाई वैकल्पिक पेशा अँगाल्न पनि बाध्य तुल्याइदिएको छ । चल्तीका कलाकार समेत अहिले आफ्ना ब्रान्ड प्रवद्र्धन गर्नेदेखि व्यवसाय सुरुआत गर्ने चटोरामा व्यस्त छन् । कतिपयले विभिन्न कम्पनीमा सेयरहोल्डरको काम थालेका छन् भने कतिपयले डिजिटल प्लेटफर्मबाट आफूलाई व्यस्त राख्ने प्रयास गरेका छन् । फाट्टफुट्ट केही कलाकार म्युजिक भिडिओमा व्यस्त हुने गरेपनि सँधैभरि यस्तो निरन्तरता हुने कुरामा अन्यौलता छ ।

तेस्रो लहर सुरु हुने भएपछि मनोरञ्जन क्षेत्र थप संकटमा पर्ने देखिएको छ । बरिष्ठ फिल्म निर्देशक एवं निर्माता अशोक शर्मा महामारीको कारण नेपाली फिल्म दशवर्ष पछाडि धकेलिएको बताउँछन् । ‘केही वर्ष मात्र हैन, लयमा फर्कन अझै दशवर्ष लाग्छ’ उनी भन्छन्, ‘यसले फिल्म निर्माण, प्रदर्शन र वितरणको चक्र नै खलबलिएको छ ।’ भाइरसका आगामी लहरले पार्ने असरलाई अनुमानै गर्न नसकिने शर्माको कथन छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल फिल्म क्षेत्रलाई लयमा फर्काउन सरकारले पहल गरिरहेको बताउँछन् । ‘परिस्थिती निश्चित नै छैन । सकेसम्म परिस्थितीलाई सामान्य अवस्थामा फर्काउन हामीले कोभिड राहत प्याकेज ल्याउन पहल गरिरहेका छौं । आगामी मौद्रिक नीतिले पनि यो समस्यालाई पहल हुने विश्वास लिएको छु’ दाहाल भन्छन, ‘समस्यामा परेका कलाकार र फिल्मकर्मीलाई हामीले बोर्डबाटै सहयोग गरिरहेका छौं । कसैलाई गाह्रो हुन दिएका छैनौं ।’

केही यस्ता कलाकार छन् जो महामारीअघि निकै हिट रहे । उनीहरुका प्रत्येक फिल्म करोड क्लबमा प्रवेश मात्र गरेनन्, बक्सअफिसमा पैसा छाप्ने नामहरु थिए । महामारीको कारण अहिले नाम चलेका कलाकार पनि वैकल्पिक पेशातर्फ सोझिएका छन् । जसमा सर्वाधिक कमाइ गरेको नेपाली फिल्म छक्का पञ्जाका निर्माता दीपकराज गिरीदेखि पछिल्लो छिमलमा रुचाइएकी दीपिका प्रसाईँसम्म छन् । केही सेलेव्रिटीलाई बुझौं जसले कलाकारितासँगै महामारीबीचमा पनि वैकल्पिक पेशालाई पनि निरन्तरता दिइरहेका छन् ।

दीपकराज गिरी : गाईपालनदेखि अर्गानिक भिलेजसम्म

फिल्मको हाँस्यविधामा अग्रणी अभिनेता एवं निर्माता दीपकराज गिरी अझै केही वर्ष आफ्नो ब्लकबस्टर सिरिज ‘छक्का पञ्जा’लाई निर्माण गर्ने योजनामा छैनन् । भाइरस संक्रमणको अवस्था सामान्य रहे यसवर्ष होमप्रोडक्सन बाहेकका कुनै फिल्म बनाउने उनको योजना छ । तर, दीपकको प्राथमिकतामा अहिले फिल्म हैन बरु अर्कै एक व्यवसाय सुरु हुँदैछ । दीपक अहिले आफ्नो जन्मथलो चन्द्रागिरी नगरपालिकाको दहचोकस्थित पुख्र्यौली जग्गामा फार्म हाउस बनाउँदैछन् ।

फार्म हाउसमा गाईपालन गर्ने र त्यसलाई अर्गानिक भिलेजको रुपमा विकास गर्ने तयारीमा छन् उनी । फार्म हाउसलाई भविष्यमा आउटडोर फिल्म स्टुडियोको रुपमा विकास गर्ने उनको लक्ष्य छ । लेख्दा लेख्दैको स्क्रिप्टलाई थान्को लगाएर उनी तयारीमा जुटेका हुन् । हजुरबुबाले जोडेको जग्गामा फार्म हाउस बनाउन अघिल्लो लकडाउनदेखि उनले सुरुआत गरेका छन् । ‘भर्खर सुरु हुँदैछ । पुरा हुन अझै दुईतीन वर्ष लाग्न सक्छ’ नेपाल प्रेससँग उनले भने ।

‘सबैभन्दा पहिला त लकडाउनले गर्दा नै वैकल्पिक पेशामा लागिएको हो । लकडाउन नहुँदा खालि सिनेमा मात्र हुन्थ्यो । दिमागमा फिल्म बनाउने कुरा मात्र हुन्थ्यो । कथा लेख्ने सोचिन्थ्यो । लकडाउनले चैँ फुर्सदमा के गर्ने भन्ने सोच्न थालियो र व्यवसायतर्फ लागिएको हो’ उनले भने ।

यति मात्र होइन उनी अहिले कृषिकर्म गर्नलाई जमिनहरु किन्ने र भाडामा लिने काम गरिरहेका छन् । आफू जन्मेको गाउँलाई संरक्षण गर्ने र नाफा नभए पनि गाउँलाई सुन्दर बनाउनतर्फ लागेको दीपक बताउँछन् । व्यवसायलाई दीर्घकालिन रुपमा अगाडी बढाउँदै र परिस्थिती अनुकूल भए फिल्म सुटिङ गर्ने कामलाई पनि दशैंतिहार पछि निरन्तरता दिने उनको भनाई छ ।

दीपिका र दीवाकर : सहकारीदेखि रेष्टुरेन्टसम्म

निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइँ सम्बन्धले पति पत्नी हुन् । दोस्रो लहरको निषेधाज्ञा सुरु हुनुअघि दुबैजना आफ्नो लगानीको फिल्म निर्माणको तयारीमा थिए । निषेधाज्ञासँगै सुटिङ रोकिएन मात्रै, उनीहरु वैकल्पिक कामतर्फ सोझिए । फिल्मको काम ठप्प भएपछि दुबैजना मिलेर विभिन्न व्यवसायमा हात हालेका छन् । यो जोडीले ललितपुरस्थित कुमारीपाटीमा वित्तिय सहकारी व्यवसाय सुरु गरेको छ ।

लाखौं लगानीमा काठमाडौंको गैरीधारामा रेष्टुरेन्ट पनि खोलेका छन् । थप व्यवसाय गर्ने योजना अनुसार यसैसाता साता धनगढीमा लोकेसन हेरेर पनि आएका छन् । दीवाकर लकडाउनअघि फिल्म ‘तिमी सँगै हुने मन छ’को छायांकन तयारीमा थिए । बन्दले गर्दा उनको प्रोजेक्ट अनिश्चितकालको लागि पोस्टपोन्ड भएको छ । भन्छन्, एकदुई वर्ष भयो कोरोनाले काम नभएको । अहिले पनि कोरोनाको तेस्रो लहरको कुरा आइरहेको छ । फिल्म क्षेत्र खोल्न पाईरहेको छैन । जीवनलाई अगाडी बढाउन समस्या भएर नै वैकल्पीक पेशा सुरु गरेका हौं ।’

उनीहरु अझै चारदेखि पाँच वटासम्म रेष्टुरेन्टको फ्रेन्चाइज खोल्ने तयारीमा छन् । दिवाकर भन्छन्, ‘पुरै क्षेत्रहरु नखुली फिल्म सुुट गर्न मिल्दैन । मैले इन्डियाबाट बोलाएको कलाकारलाई लकडाउनको कारणले फर्काइसकेको छु । त्यसैले कोभिडको खोपहरु लगाइसकेपछि बोलाउँछु ।’ फिल्मसँगै सहकारी, रेष्टुरेन्टजस्ता पेशालाई समय मिलाएर अघि बढ्ने योजनामा दीवाकर र दीपिका छन् । ‘अब फिल्म र व्यवसायलाई समय मिलाएर अघि बढाउनेछौं’ उनले भने । कोरोनाको परिस्थिती सामान्य भए रोकिएको फिल्म ‘तिमीसँगै हुने मन छ’लाई दशैंतिहार पछि छायांकन गर्ने तयारीमा उनी छन् ।

वर्षा र संजोग : चिया अड्डाको फ्रेन्चाइज विस्तारमा

 

अभिनय करियरसँगै प्रेम विहे गरेको यो जोडी दर्शकले रुचाउने नाम हो । लकडाउनअघि यी दुबैजना व्यस्त थिए । पाइपलाइनमा केही फिल्महरु पनि । साइन गरेका फिल्महरु लकडाउनले रोकिएपछि संजोग र वर्षाले नयाँ काइदा निकाले : चिया बेच्ने । उनीहरुले चियाको ब्रान्डिङ गर्ने सोचअनुसार खोले चिया अड्डा । लाखौं लगानी गरेर यो जोडीले काठमाडौंको नयाँबानेश्वरमा चियाको व्यापार थालेका छन् । उनीहरुको व्यवसायमा दीपाश्री निरौला र दीपकराज गिरीले पनि सघाएका छन् ।

रहरले नभई परिस्थितिले यो व्यवसायमा आइपुगेको उनीहरुको कथन छ । संजोग भन्छन्, ‘लकडाउनकै कारण हामीले चिया अड्डा खोल्न पायौं, लकडाउन हाम्रा लागि एउटा माध्यम बन्यो । आगामी दुईतीन वर्षमा दसवटा चिया अड्डा खोल्ने सोच छ ।’ लकडाउनले गर्दा व्यवसाय कसरी अगाडि लैजानुपर्छ भनेर बुझ्ने अवसर पाएको उनी बताउँछन् । कोरोनाका कारण वैकल्पिक पेशा अपनाउनुपर्ने अवस्था आएकाले चिया अड्डामा पनि लगानी गरिएको संजोगको भनाई छ ।

साम्राज्ञी शाह : अनलाइन कस्ट्युम व्यापारमा व्यस्त

भुवन केसीले निर्माण गरेको फिल्म ‘ड्रीम्स’ हिट भएपछि साम्राज्ञी शाहले त्यसयता पछाडि फर्केर हेर्नुपरेन । उनले लगातार हिट फिल्म दिइरहिन् । उनको नामकै लागि निर्माताले करोडौंको जोखिम समेत उठाउन पछि परेनन् । मल्टिप्लेक्स र तन्नेरी दर्शकमाझ हिट हिरोइन साम्राज्ञी अहिले भने महामारीले गर्दा वैकल्पिक व्यवसायमा व्यस्त भएकी छिन् । लकडाउनअघि ‘रातो टीका निधारमा’ फिल्ममा देखिएकी उनले ‘तिम्रो मेरो साथ’ मा समेत काम गरिन् । ती फिल्मले उनलाई सोचेजस्तो बक्सअफिस सफलता दिएन । मारुनी फिल्मले राहत दिएपनि त्यो पर्याप्त रहेन । तर, भाइरस लकडाउनपछि साम्राज्ञीको व्यस्तता बदलिएको छ ।

तपाईं इन्स्टाग्राम एकाउन्ट स्क्रल गर्नुहुन्छ भने साम्राज्ञीको व्यस्तता देख्नुहुन्छ । ‘प्याप्ड’ नामक अनलाइन कस्ट्युम व्यापार थालेकी साम्राज्ञीले इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक संजालबाट ब्रान्डको प्रवद्र्धन मात्र गरेकी छैनन, उनी यिनै प्लेटफर्मबाट ग्राहकसँग अन्तक्रिया गर्छिन् । आउने अर्डरको आधारमा उनले विश्वभरि कस्ट्युमहरु डेलिभर समेत गर्छिन् । अनलाइनमा स्टाइलिस लेडीज परिधान विक्रीलाई राखेकी छिन् । टाइमलाइनमा केटीहरुलाई लक्षित गर्दै स्टाइलिस परिधानका तस्विर पोस्ट गर्छिन् । उनको अनलाइन सर्भिसमा प्यान्ट, सट्, ब्लेजर, सिल्की ड्रेस, टू पीसजस्ता डिजाइन उपलब्ध छन् ।

कलाकर्मी कोही कुखुरापालनदेखि तरकारी फलाउँदै

निर्देशक गणेश पाण्डे अहिले काठमाडौंको बागमती करिडोर नजिक चिया पसल संचालन गर्न व्यस्त छन् । अभिनेत्री आँचल शर्मा पति उदिप श्रेष्ठको क्लिनिक चलाउन व्यस्त छिन् । अभिनेत्री वर्षा शिवाकोटीले पहिलो लहरको महामारीपछि एक कार्यालयको व्यवस्थापनको गर्न थालेको जनाएकी थिइन् । नाम चलेका केही फिल्म प्राविधिकहरु अहिले घर फर्किएर तरकारी व्यवसाय र ठेक्का पट्टामा समेत संलग्न हुन थालेका छन् । प्रायः फिल्म हल बन्द भएपछि त्यहाँका स्टाफहरु गाउँ फर्किएर कृषिकर्म व्यस्त छन् भने कतिपयले रेष्टुरेन्टजस्ता व्यवसाय थालेका छन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा एउटा प्राविधिक उत्पादन गर्न पाँचवर्ष लाग्ने भएकाले एकजना प्राविधिक पनि पलायन हुनु राष्ट्रकै लागि क्षति हुने बताउँछन् । उनका अनुसार पहिलो लहरकै लकडाउनमा १५ देखि २० प्रतिशत प्राविधिक पलायन भएका थिए । दोस्रो लहरमा सो संख्यामा वृद्धि भएको लामा बताउँछन् । लामाकै पहलमा विपन्न प्राविधिकलाई राहत वितरण गर्ने काम पनि भैरहेको छ ।

राजेश भन्छन् : कलाकारिता असुरक्षित पेशा

कुनैबेला निकै व्यस्त रहने अभिनेता राजेश हमाल पहिलो लकडाउनमा टेलिभिजन कार्यक्रममा व्यस्त रहे । दोस्रो लहरको लकडाउनमा भने उनी बेरोजगारजस्तै छन् । पत्नी मधु र उनी अहिले केही म्युजिक भिडिओमा व्यस्त छन् । राजेश हमालले अहिले कति फुर्सदमा छन् भन्ने कुरा बुझ्न उनका सामाजिक संजालका टाइमलाइन हेरे पुग्छ । फुर्सदमा टीकटक बनाउनेदेखि म्युजिक भिडिओ प्रवद्र्धनमा उनको व्यस्तता देख्न पाइन्छ । निषेधाज्ञा खुल्ने वित्तिकै हमाल मोटिभेसनल स्पिकर बनेर देश दौडाहामा निस्कने तयारीमा छन् ।

हालैको एक टेलिभिजन अन्तर्वार्तामा हमालले नेपालमा मात्र नभएर विश्वभर नै कलाकारिता असुरक्षित पेशा भएको बताए । महामारीको कारण झनै असुरक्षा पैदा भएको जनाउँदै उनले यस्तो अनुभव आफूले पटक-पटक गरेको स्मरण समेत गरे । सुरुमा एउटा फिल्म हिट हुने भएपनि त्यसपछिका फिल्म नचल्ने बताउँदै उनी सुरक्षित हुने पेशा रोज्न पनि नयाँ छिमलका कलाकारलाई सुझाव दिन्छन् ।

उनी भन्छन्, ‘कलाकारितामा लागेर सफलता हासिल हुन्छ, करिअर बन्छ, जीविकोपार्जन लामो समयसम्म गरिरहन सकिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । कलाकारिता क्षेत्रको कुरा गर्दा, यो वर्ष त म चलेँ तर अर्को वर्ष चल्छु कि चल्दिन भनेर असुरक्षित महसुस हुन्थ्यो, पहिलो फिल्म भव्यताका साथ रुचाइयो भने पनि दोस्रो फिल्मलाई पनि त्यही अनुपातमा रुचाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।’

फिल्म क्षेत्रमा हात हाल्दा प्लान-बी चाहिने हमालको सुझाव छ । ‘यो क्षेत्रमा सफल भइएन भने अर्को पेशामा जान्छु भनेर ठोस योेजना बनाउनु पर्छ’, उनी भन्छन् ‘कलाकारिताभन्दा अन्य पेशामा काम गर्दा दीर्घकालिन हुन्छ ।’ प्रस्तुत कलाकारहरु त प्रतिनिधि पात्र मात्र हुन्, महामारीको कारण चम्किलो जीवनभित्र दुःखजिलो जीवन बाँच्नेहरुको कथा अझै दुरुह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर