दिनभर खोज्दा पनि भेटिएनन् जयसिंह, तुइनको डोरी काटेकोबारे भारतसँग सोधपुछ – Nepal Press

दिनभर खोज्दा पनि भेटिएनन् जयसिंह, तुइनको डोरी काटेकोबारे भारतसँग सोधपुछ

काठमाडौं । भारतीय प्रहरी एसएसबीले तुइन काटेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई दिनभरि खोज्दा पनि नभेटिएको स्थानीय प्रशासनले जनाएको छ । साँझ ६ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले धामीको खोजी गरेको थियो ।

व्यास गाउँपालिका-२ बाट जिल्ला सदरमुकाम खलंगा जानका लागि भारतीय बाटो भएर चाँडै पुगिने हुँदा स्थानीयले तुइनको प्रयोग गर्ने गरेका थिए । शुक्रबार जयसिंहलगायत पाँच युवा जरुरी कामले जिल्ला सदरमुकाम जानुपर्ने भएपछि उनीहरुले तुइन चढेर भारतीय बाटो हुँदै जाने निधो गरे । बिहान आठ बजे उनीहरुमध्ये चार जना तुइन चढेर पारी पुगे । तर, अन्तिममा चढेका जयसिंह भने बीचमै हराए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टका अनुसार जयसिंह कसरी हराए भन्ने अहिलेसम्म निक्र्यौल भएको छैन । भारतीय प्रहरी एसएसबीले तुइन काटेपछि जयसिंह नदीमा खसेका खवर सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी सिंदराज जोशीले भारतीय प्रशासनसँग कुरा गरेका थिए । समाचारमा आएजस्तो एसएसबीले तुइन नकाटेको दावी भारतीय पक्षले गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार तुईन प्रयोग गरेर पारी जान नपाइने भन्दै एसएसबीले कडाई गर्दै आएको छ । पाँच जनामध्ये चार जनाले नदी पार गरिसकेको र एक जनाले पार गर्दैगर्दा एसएसबीले देखेपछि डोरी काट्न खोज्दा नदीमा खसेर हराएको हुनसक्ने भट्टको अनुमान छ ।

घटनास्थल सदरमुकामबाट धेरै टाढा छ । बर्खाको समयमा सडक बिग्रिएका कारण गाडी नचल्ने र हिँडेर जाँदा पुरै एक दिन लाग्ने देखिएकाले घटनाको अनुसन्धान गर्न स्थानीय प्रहरीलाई भनिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताइन् । शनिबारसम्म घटनाको प्रारम्भिक विवरण आउने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्रबहादुर चन्दका अनुसार पाँचजना तुईन तरेर गएकामध्ये चार जना जिल्ला सदमुकाम खलंगा आइपुगेका छन् । तुईनबाट खसेको अहिलेसम्म कसैले नदेखेको तर सँगै गएका चार जनाले आफुहरुसँगै आएको व्यक्ति हराएको भन्दै जानकारी गराएका छन् ।

बिहान आठ बजे घटना भएको भनिए पनि प्रहरीलाई भने नौ बजे मात्र खवर आएको इन्सपेक्टर चन्दले बताए । उनका अनुसार साँझ ६ बजेसम्म स्थानीय प्रहरीले खोजी गर्दा नभेटाएपछि भोलि बिहान खोजी गर्ने र नदीसँग बग्दै जाने जिल्ला बैतडी र कञ्चनपुरको प्रहरीलाई पनि खवर गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर