एसएसबीले तुइन काटेर नेपाली युवा वेपत्ता बनेको घटनामा कांग्रेसको आपत्ति – Nepal Press

एसएसबीले तुइन काटेर नेपाली युवा वेपत्ता बनेको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक युवा वेपत्ता बनेको घटनाबारे नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर भएको घटनालाई अमानवीय र आपत्तिजनक भन्दै दुख व्यक्त गरेका छन् ।

व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्ड राज्यको पांगलहुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा काटिदिएपछि ३५ वर्षका युवा जयसिंह धामी वेपत्ता भएका थिए । एसएसबीका जवानले तुइन काटिदिएका उनी नदीमा खसेको समाचारमा जनाइएको छ ।

शर्माले जारी गरेको विज्ञप्तिमा पार्टीका जिल्ला सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्कपछि त्यही विवरण केन्द्रमा प्राप्त भएको उल्लेख गरेका छन् । नदी तर्ने क्रममा तुइन नदीमा खसेर बेपत्ता भएको घटना दुःखद मात्रै नभएर अमानवीय र आपत्तिजनक भएको विज्ञप्तिमा जनाइएको छ ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ,‘ आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर