असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति – Nepal Press

असोजसम्म १ करोड ८३ लाख डोज खोप आइपुग्ने, १० प्रतिशत मुनाफा लिएर खोप खरिद गर्न अनुमति

आइसीयू, भेन्टिलेटर, कन्सनट्रेटर थप्ने तयारी

काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप आयात र तेस्रो लहरको चुनौतिविरुद्ध लड्न आवश्यक पूर्वाधार स्थापनाको प्रगतिबारे जानकारी गराएको छ ।

चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।

१२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने समेत जनाइएको छ । कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१० प्रतिशत नाफा लिएर खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति

यसैबीच, सरकारले १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।

खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य पूर्वाधारमा वृद्धि गरिने

मन्त्रालयले १४ सय थान हाइ डिपेन्डेन्सी युनिट ९एचडीयू०, १८० थान भेन्टिलेटर थप गर्ने चरणमा रहेको जनाएको छ । बालबालिकाको लागि १८० भेन्टिलेटरसहितको २५० आइसीयू बेड थप्ने कार्य अघि बढेको प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा वक्तव्यमा उल्लेख छ ।

अक्सिजन आपूति सुद्धढ गर्नको लागि थप ३५०० थान अक्सिजन कन्सनट्रेटर ल्याउने तयारीमा रहेको मन्त्रालयले जनाएको छ । १९वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत दुईवटाको कार्य सम्पन्न भैसकेको, ४ वटाको प्रक्रिया सुरु भएको र १० वटाको सूचना प्रकाशित भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर