सर्वोच्च गएका पूर्वमाओवादी नेताका वकिललाई एकसाथ ज्वरो – Nepal Press

सर्वोच्च गएका पूर्वमाओवादी नेताका वकिललाई एकसाथ ज्वरो

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए । यो भनेको रिट निवेदकको सर्वोच्चसँग आपतकालीन न्याय माग हो । तर, आजको सुनुवाइ रिट निवेदक पक्षकै कानून व्यवसायीका कारण स्थगित भएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा आज पूर्वमाओवादी नेताहरूको मुद्दाको पेसी राखिएको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका वकिलहरूले ‘ज्वरो, रुघाखोकीका कारणले आज बहस गर्न सकिएन, काबुबाहिरको परिस्थिति भएका कारणले सुनुवाइ स्थगित गरी पाउँ’भन्ने व्यहोराको निवदेन सर्वोच्चमा दिएका थिए ।

हिजो भने यो मुद्दा न्यायाधीश दीपक कार्कीको इजलासमा परेको थियो । हिजो सर्वोच्च अदालतमा विसंगतिविहीन न्यायपालिका सम्बन्धमा अध्ययनन प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले उक्त मुद्दा ‘हेर्दा हेर्दै’ मा परेको थियो ।

तर, आज उक्त मुद्दामा सुनुवाइ हुने स्थिति भए पनि रिट निवेदक पक्षकै वकिलहरू हच्किएका हुन् ।

स्रोतका अनुसार उनीहरूमा खास ज्वरो आएको नभइ इजलासमा रहेका न्यायाधीशका कारण ज्वरो आएको हो । डा. आनन्दमोहन भट्टराईको इजलासले मुद्दा हेर्ने भएपछि रिट निवेदक पक्षका वकिलहरूले नै सुनुवाइ स्थगनको माग गरेका हुन् ।

भट्टराई दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने संवैधानिक इजलासमा पनि थिए । उनी बोल्ड न्यायाधीशहरू मध्येमा पर्छन् । प्रतिनिधिसभाको विघटन बदर गरेका र निकै बोल्ड स्वभावका न्यायाधीश परेका कारण आफूहरूले चाहे अनुसारै फैसला आउने अवस्था नभएपछि उनीहरुले ज्वरो आएको बहानामा सुनुवाइ स्थगनको माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर