भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने – Nepal Press

भदौ १६ मा कांग्रेस महाधिवेशन नहुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि आयोजना हुने कुनै सम्भावना छैन । तर, यो सत्य सार्वजनिक गर्न कुनै नेता तयार छैनन् । बुधबार कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले भने-महाधिवेशन भदौ १६ मै हुन्छ, हुन्छ, हुन्छ ।

तर कसरी ? सभापति देउवाकै निकट नेताहरू अलमलमा छन् ।

‘महाधिवेशन भदौ १६ मै हुन्छ भनेर सभापतिले भन्नुभएको छ । कसरी हुन्छ भन्ने पनि उहाँबाहेक अरुलाई थाहा छैन’, देउवानिकट एक नेताले भने ।

बुधबारकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन एक दिन पनि सार्न नहुने बताए । तर, क्रियाशील सदस्यताको समेत टुंगो नलागेको अवस्थामा १ महिनाभित्रै कांग्रेसको वडादेखि केन्द्रसम्मको महाधिवेशन कसरी हुन्छ ?

पौडेलनिकट नेताहरू पनि ढुक्क छैनन् । ‘परिस्थिति हेर्दा महाधिवेशन नहुने निश्चित भइसकेको छ तर रामचन्द्र दाइको कन्फिडेन्स किन बढेको हो ? जसरी नि महाधिवेशन हुन्छ भन्नुहुन्छ’, पौडेलनिकट नेताहरूको भनाइ छ ।

महाधिवेशन नहुने निश्चित

नेपाली कांग्रेसको विधिसम्मत महाधिवेशन भदौ १६ मा हुन सम्भव छैन । किनकी निर्वाचन समितिले नै प्रक्रिया शुरू भएको कम्तीमा ५३ दिनपछि महाधिवेशन गर्न सकिने खाका शीर्ष नेताहरूलाई देखाइसकेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, निर्वाचन प्रतिनिधिको प्रशिक्षणदेखि सबै काम सकेर दू्रत गतिमा अधिवेशन सक्दापनि ५३ दिन लाग्ने बताइसक्दापनि नेताहरु महाधिवेशनको विकल्प वा नयाँ मितिबारे बोलन खोजिरहेका छैनन् । अहिले नै यसबारे बोल्दा महाधिवेशन गर्न नसकेको अपजस आइपर्ने चिन्ता नेताहरूमा देखिन्छ ।

भदौ १६ आउन ३५ दिन बाँकी छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपनि कतिपय जिल्लाको विवाद थाँती नै छ । समायोजनका नाममा बाँडिएका क्रियाशील सदस्यताको विवाद अझै सुल्झेको छैन । निर्वाचन निर्देशिका तयार भएकै छैन । यस्तो अवस्थामा नहुने महाधिवेशनको रटान लगाउन कांग्रेस नेताहरुले छाडेका छैनन् । ‘भदौ १६ मा महाधिवेशन नहुने निश्चित छ तर यसको घोषणा गर्न अझै केही समय लाग्छ’, कांग्रेसका एक पदाधिकारीले नेपाल प्रेससँग भने ।

पछिल्लो कार्यतालिका अनुसार साउन १२ मा हुनुपर्ने वडा अधिवेशन प्रभावित भएका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका निष्क्रिय भइसकेको छ । सभापति देउवाले भदौ १६ मै महाधिवेशन हुनेगरी नयाँ कार्यतालिका ल्याउन निकट नेताहरूलाई निर्देशन दिएका छन् । तर महिनादिनमै महाधिवेशन गर्ने विश्वासिलो आधार पहिल्याउन उनीहरूलाई अप्ठ्यारो परेको छ ।

‘अरे हामी पनि उपाय खोजीराछौ, हतार नर्गनुस् न यार’, कार्यतालिकाको जिम्मा पाएका एक नेताले नेपाल प्रेससँग भने ।

सेलायो उम्मेदवारको सक्रियता

केही दिनअघिसम्म कांग्रेसका जिल्लादेखि केन्द्रसम्मका आकांक्षीहरूको सक्रियता चुलिएको थियो । विस्तारै यो क्रम सेलाएको छ । महाधिवेशन केन्द्रित भेला, छलफल र वार्ता हुन छाडेका छन् । सभापति देउवाको नेतृत्वमा सरकार बनेसंगै अधिकांश नेताको सरोकार पनि फेरिएको छ ।

‘सरकारमा कति मन्त्री पाउने , कसलाई पठाउने भन्नेमै धेरै छलफल हुन थालेको छ । महाधिवेशन हुने भए एक महिना बाँकी हुँदा कांग्रेसमा यस्तो सन्नाटा हुन्थ्यो र ?’,एक नेताले प्रश्न गरे ।

सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, कल्याण गुरुङ लगायतले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर केही समयअघि चुलिएको दावेदारहरूको छलफलको श्रृंखला अहिले रोकिएको छ ।

भित्रभित्रै विकल्पको खोजी

सभापति देउवाले बारम्बार महाधिवेशन गर्न नसकेको कलंक नबोक्ने बताउँदै आएका छन् । प्रधानमन्त्री बनेपछि उनको व्यस्तता बढ्दो छ । आन्तरिक बैठकमा जसरी पनि महाधिवेशन हुने ठोकुवा गरेपनि भरपर्दो विकल्पबारे देउवाको परामर्श जारी छ ।

‘महाधिवेशन नहुने अवस्थामा के गर्ने भन्नेमा छलफल चलि नै रहेको छ । सभापतिलाई चित्त बुझेको विकल्प केही दिनमा फ्लोर हुन्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार क्रियाशील सदस्यताको काम मात्रै नभए पनि तत्काललाई टुंग्याउने नेतृत्वको इच्छा छ । अहिले क्रियाशील टुंग्याउन सके छोटो समय थप गरेर कात्तिकसम्म महाधिवेशन गर्न सकिन्छ की भन्ने विकल्पमा छलफल भइरहेको ती नेताको भनाइ छ ।

त्यसबाहेक लकडाउन भए बराबरको अवधि थप गर्ने, निर्वाचन आयोगबाट स्वीकृति लिएर महाधिवेशनका लागि थप समय लिने, पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने, सहमतिको महाधिवेशन गर्ने लगायतका विकल्प पनि शीर्ष तहमा छलफलमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *