तीन सातासम्म कार्यान्वयन भएन एआईजीपी सरुवा र पदस्थापनाको निर्णय – Nepal Press

तीन सातासम्म कार्यान्वयन भएन एआईजीपी सरुवा र पदस्थापनाको निर्णय

काठमाडौं । नेपाल प्रहरीमा एआईजीपी सरुवाको एक महिना पुग्न लाग्दा पनि कार्यान्वयन भएको छैन । नेपाल प्रहरीको प्रशासनतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) बाट सहकुलबहादुर थापा एआईजीपीमा बढुवा भएपछि गत असार २४ गते केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले थापाको पदस्थापनसँगै अन्य चार एआईजीपी सरुवा गरेको थियो । त्यसैको तीन दिनपछि असार २७ गते प्रहरी प्रधान कार्यालयले चारजना एआईजीपीको सरुवा र एकजनाको पदस्थापना भएको जानकारी गराएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनसँगै गृहमन्त्री बनेका बालकृष्ण खाणले अघिल्लो सरकारले गरेको एआईजीपीको सरुवा कार्यान्वयन नगर्न प्रहरी महानिरीक्षक (आईजीपी) शैलश थापालाई निर्देशन दिएको खबर सार्वजनिक भयो ।

सरुवा कार्यान्वयन रोकेकोबारे नेपाल प्रेसको जिज्ञासामा गृहमन्त्री खाणले आफूले त्यस्तो कुनै निर्देशन नदिएको बताएका छन् । साथै आईजीपी थापाले भने गृहमन्त्री थापाबाट त्यस्तो कुनै पनि निर्देशन नआएको बताएका थिए ।

अघिल्लो सरकारले सहकुलबहादुर थापालाई बढुवा पछिको पहिलो पदस्थापन नै मानवश्रोत तथा प्रशासन महाशाखामा गरेको थियो । डीआईजीमा बढुवा गर्दा पनि प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी नदिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पदस्थापन गरेको भन्दै कतिपय प्रहरी अधिकारी असन्तुष्ट थिए । दोस्रो पटक डीआईजीपीको सरुवा गर्दा पनि थापालाई बढुवा गर्ने तयारी अनुसार नै प्रदेशमा नपठाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको थियो । नभन्दै निर्देशनालयमा सरुवा भएको एक सातमा नै उनको एआईजीपीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

थापालाई एआईजीपीमा दरबन्दी सृजना गरेर बढुवा गरिएकाले गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले उनको बढुवा गर्नुअघिको बैठकले कार्य तथा अपराध अनुसन्धान विभागलाई टुक्राएर कार्य विभाग र अपराध अनुसन्धान विभाग बनाएको थियो । टुक्राइएको विभागमध्ये कार्य विभागमा एआईजीपी हरिबहादुर पाललाई सरुवा गरिएको थिपो । ६ महिना अघि कार्य तथा अपराध अनुसन्धान विभागबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका पाललाई पुन टुक्राइएको एक विभागमा सरुवा गरिएको भन्दै पाल असन्तुष्ट भएका समाचार पनि सार्वजनिक भएका थिए ।

७ महिना अघि पनि नयाँ दरबन्दी सृजना गर्दै सरकारले विश्वराज पोखरेललाई डीआईजीपीबाट एआईजीपीमा बढुवा गरेर कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापनगरेपछि पाल विभागबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए । फेरी पनि नयाँ दरबन्दी सृजना हुदाँ पालले सरुवा भएको महानगरीय प्रहरी कार्यालयमा ७ महिना बिताउन नपाउदैँ सरुवा भएकोमा उनी असन्तुष्ट हुदैँ आएका छन् ।

सामान्यतया एक वर्षमा प्रहरी अधिकृतको सरुवा हुने भए पनि एआईजीपीमा नयाँ दरबन्दी सृजना भएपछि पालको सरुवा भएको ७ महिनामा नै पुनः सरुवा भएको हो ।

यस्तै निरजबहादुर शाहीलाई मानवश्रोत तथा प्रशासन विभागबाट टुक्राईएको एक विभाग अपराध अनुसन्धान विभागमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रद्युम्न कार्कीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । कार्य तथा अनुसन्धान विभागबाट विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।

तर, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म एकजना एआईजीपी पनि सरुवा भएको नयाँ ठाउँमा गएका छैनन् । उनिहरु यस अघिकै ठाउँमा हाजिर भएर काम गर्दै आएका छन् । पदस्थापन भएका एआईजीपी सहकुलबहादुर थापा केही दिन प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा हाजिर भए पनि केहि दिन यता बिदामा बसेका छन् । सरुवा भएको ठाउँमा नजान प्रहरी महानिरीक्षकले गृहमन्त्रीको निर्देशनमा रोकेपछि उनलाई कहाँ हाजिर हुने भन्ने अफ्टयारो परेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले यस बारेमा मुख खोल्न चाहेनन् । तर प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले भने प्रक्रियामा रहेको बताए । सरुवा भएको २१ दिनसम्म प्रक्रियाकै चरणमा रहन्छ र ? भन्ने प्रश्नमा उनले भने, ‘कार्य सम्पादन मूल्यांकन लगायतका धेरै कुरा मिलाउनुपर्छ । त्यसैले प्रक्रियामा नै छ । अब कार्यान्वयनमा जान्छ ।’

गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले यस बारेमा आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘यस बारेमा मलाई केही पनि थाहा हुदैँन, प्रशासन महाशाखालाई जानकारी हुने भएकाले त्यतै तिर बुझ्नुहोला ।’ प्रशासन महाशाखाका एक अधिकारीले भने, ‘तल्लो तहको बारेमा हामीलाई थाहा हुन्छ । यो माथिल्लो तहको कुरा भयो । यसमा मलाई केही पनि जानकारी छैन । मन्त्री तथा सचिव स्तरमा बुझ्न्होला ।’

मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग सम्पर्क गर्दा भने उनको सचिवालयले सचिव व्यस्त भएको जानकारी गरायो । सचिवालयले भन्यो, ‘कुनै जानकारी चाहिएको भए प्रवक्तालाई बुझ्नुहोला । सचिव ज्यू बैठकमा व्यस्त हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर