चौराहा-गोलपार्क सडकखण्ड मर्मतको माग गर्दै युवा संघ डेलिगेशनमा – Nepal Press

चौराहा-गोलपार्क सडकखण्ड मर्मतको माग गर्दै युवा संघ डेलिगेशनमा

काममा लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्न माग

रुपन्देही । बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल मर्मतसम्भार र विस्तार गर्न माग गर्दै युवा संघ नेपाल रुपन्देहीले सम्बन्धित कार्यालयहरुको ध्यानाकर्षण गराएको छ ।

बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भएको छ । खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालय सदस्यसहित अगुवा युवाहरुको टोली कार्यालयमा पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माणकम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ । यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।

यस्तै निर्माण कम्पनीको पड्सरीस्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानूनी कारवाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।

उक्त सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको संघले आशंका गरेको छ । अतिसंवेदनशील तथा समग्र बुटवललाई नै कुरुप बनाएको यस सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई अब सहेर नबस्ने संघको चेतावनी छ ।

सीडीओ, व्यापारिक मार्ग र ठेकेदारलाई ध्यानाकर्षण

जिल्लामा भए गरेका सम्पूर्ण काम कारवाहीहरुको नियमन गर्ने निकायका रुपमा रहेको जिल्ला प्रशासन कार्यालय भएकाले प्रजिअलाई आवश्यक निर्देशन र अटेरी गर्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सीडीओमार्फत् व्यापारिक मार्ग विस्तार परियोजना र निर्माण व्यवसायीका विरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएको युवा संघका अध्यक्ष गौचनले बताए ।

सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ्ग गर्नेे र राजमार्गमा दैनिक सरसफाईका कामहरु अनिवार्यरुपमा गर्ने व्यवस्था मिलाउने काममा सम्बन्धित निकायलाई आवश्यक निर्देशन प्रदान गर्ने तथा कार्यान्वयन प्रक्रियामा समेत सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षण गराइएको उनले बताए ।

व्यापारिक मार्ग परियोजना कार्यालयलाई कार्यालयमार्फत तत्काल मर्मत सम्भारका काम थाल्न आग्रह गरिएको छ भने ठेकेदारलाई तत्काल काम सुरु नगरे युवा संघले नै नियन्त्रणमा लिएर सीडीओ कार्यालयमा बुझाउने भन्दै ध्यानाकर्षण गराइएको छ । निर्माण कार्यको जिम्मा पाएको कम्पनीका प्रमुख भने अहिले सम्पर्कमा छैनन् । उनलाई जिल्ला प्रशासन कार्यालयले खोजि गरिरहेको छ । उनको कार्यालयमा रहेका प्राविधकि अमित पटेकलाई युवा संघले उक्त पत्र बुझाएको थियो ।

तोकिएको समयसीमा भित्रै गुणस्तरीय सडक निर्माण गर्ने र सरसफाइयुक्त तथा धुवाधुलोमुक्त वातावरण सिर्जना गर्ने काममा ढिलासुस्ती र लापरवाही देखाएको खण्डमा हामी निर्माण व्यवसायी कम्पनीको विरुद्ध सशक्त प्रतिकारमा उत्रने चेतावनी समेत दिइएको अध्यक्ष गौचनले बताए ।

सडक मर्मत नहुँदा सहर नै कुरुप

नेपालको मध्यभागमा रहेको लुम्बिनी प्रदेशको मुकाम बुटवल तीव्र गतिमा विकास भइरहेको नेपालको एक प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । तर बिडम्बना, बुटवलको बीचभागमा रहेको पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण सिद्र्थ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डको हालत बेहाल छ ।

बुटवलको यो खण्डको बाटो भएर हिँड्ने लाखौं यात्रु, बुटवलमा आउने हजारौं पाहुना तथा पर्यटकहरुको अगाडि हामी बुटवलबासी तथा बुटवललाई माया गर्नेहरु लज्जित भएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बुटवलका युवा मेघराज भट्टराईले बताए । उनले यस सडक खण्डमा उड्ने धुवाँधुलोले यहाँ गुड्ने सवारी साधन र हिड्ने मानिसको शरीर मात्र होइन, सारा बुटवल नै धुलाम्मे बनाएको बताए ।

युवा संघका केन्द्रीय सदस्य केशब रोकाले बालबच्चा, जेष्ठ नागरिक, गर्भवती र अस्वस्थ नागरिकहरुलाई यो सडक खण्डमा हिँडाउने अवस्था नै नरहेको बताए ।

किन भइरहेको छ ढिलाइ ?

पछिल्ला केही समययता लगातार पानी परेको र मनसुन समयमै सुरु भएर सुरुकै दिनदेखि झरी लागेकाले निर्माणको काम प्रभावित भएको छ । यद्यपि घाम लागेको बेला र झरी नपरेको बेलामासमेत यहाँका खाल्डाखुल्डी पुर्ने र विस्तारका काम अगाडि बढेका छैनन् ।

समयमै काम नहुने र सास्ती जनताले पाउने अवस्था भएकाले आफूहरु सम्बन्धित कार्यालयहरुमा ध्यानाकर्षणका लागि गएको युवा संघका जिल्ला नेता विकासजंज बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर