खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव – Nepal Press

खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कोभिड-१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे ।

नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिइन् । देशका विभिन्न भागमा बाढीपहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । निर्मला पन्तलाई चाँडो न्याय दिन उनले माग गरिन् ।

एमाले सांसद विमला घिमिरेले संसदमा आरोप प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरिन्। सोही दलका अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिइन् भने सांसद तुलसाकुमारी दाहालले कोरोना सङ्क्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिइन् ।

नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले सबै राजनीतिक दल र जनताको प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले सुनाए । नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरीदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर