घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी – Nepal Press

घोषणा गरेको दुई दिनसम्म फुटबल प्रशिक्षकले बुझाएनन् राजीनामा, एन्फासँग संवाद जारी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हिजो फेसबुकमार्फत राजीनामाको घोषणा गरे । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई आरोपित गर्दै राजीनामा घोषणा गरेका अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फामा अहिलेसम्म राजीनामा बुझाएका भने छैनन् ।

एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षकबाट राजीनामा नआइसकेको बताए । सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा भएपछि अल्मुताइरीसँग एन्फाको संवाद भइरहेको उनले जानकारी दिए । प्रशिक्षकको असन्तुष्टिका विषयहरुबारे भने उनले बताउन चाहेनन् ।

राईले भने, ‘अहिले सबै भनेर साध्य हुँदैन । छलफल भइरहेको छ । अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ आएपछि निस्कर्षमा पुग्छौं ।’

प्रवक्ता राईका अनुसार प्रशिक्षकको राजीनामा मात्र नभएर ‘सबै विषयको समाधान खोज्ने गरी’ छलफल भइरहेको छ । अरु विषय के हुन् भन्ने उनले जानकारी दिन चाहेनन् ।

उनले भने, ‘राजीनामा फिर्ताको कुरा आफ्नो ठाउँमा छ । तर अरु पनि विषयहरु छन् । राजीनामा फिर्ताले मात्रै सबै हल हुँदैन । सबै विषयको अध्ययन र छलफलपछि टुंगोमा पुग्ने कुरा आउँछ ।’

प्रशिक्षक अल्मुताइरीले उपाध्यक्ष नेम्वाङबाट आफूलाई असहयोग भएको संकेत गरेका छन् । नेम्वाङले भने आफूबाट गलत भएको भए कारवाही भोग्न तयार रहेको बताउँदै आएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङि शेर्पा भने पोखरामा छन् । उनी भोली काठमाडौं आउने प्रवक्ता राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर